• १३ वैशाख २०८१, बिहिबार

धनगढी उपमहानगरपालिकाको बजेट एक अर्ब ८३ करोड

blog

अविनाश चौधरी

धनगढी, असार १० गते । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि एक अर्ब ८३ करोड ८९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला राना थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । 

कुल बजेटमध्ये चालूतर्फ एक अर्ब तीन करोड १९ लाख र पुँजीगततर्फ ८० करोड ६९ लाख ५४ हजार रुपियाँ विनियोजन गरिएको छ । धनगढी उपमहानगरपालिकाले चालू वर्षको तुलनामा एक करोड ६ लाख ३१ हजार रुपियाँ बढाएर बजेट ल्याएको छ ।  

यसैगरी धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष आन्तरिकतर्फको आय २६ करोड ७९ लाख २४ हजार, राजस्व बाँडफाँटतर्फको आय ४७ करोड २९ लाख ३३ हजार रुपियाँ विनियोजन गरेको छ । यसैगरी, सङ्घीय सरकारबाट अन्तरवित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तरसरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार रुपियाँ प्राप्त हुनेछ । यस्तै, चालू आर्थिक वर्षको सरिआएको रकम १० करोड आयतर्फ रहने बजेट वक्तव्यमा उल्लेख छ । 

धनगढी उपमहानगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई पुनराबलोकन गरी प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाएको बजेट वक्तव्यमा व्यवस्था छ । यसैगरी, कैलालीकै गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड आठ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । शुक्रबार भएको नगरसभामा नगर प्रमुख वीरेन्द्र भट्टले बजेट प्रस्तुत गर्नुभयो । 

कुल बजेटमध्ये चालूतर्फ ७१ करोड ३३ लाख २५ हजार र पूँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार रुपियाँ विनियोजन गरिएको छ ।