लीलाधर वली
घोराही, साउन ४ गते । दाङमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१-०८२ मा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरी जोन दाङको आर्थिक तथा प्राविधिक सहयोगमा मह प्रशोधन उद्योग स्थापना गरिएको हो।
किसानको ५० प्रतिशत लगात सहभागीता गरेर १५ लाख ५९ हजार रुपियाँको लगानीमा मह प्रशोधन उद्योग स्थापना गरिएको थियो । मह प्रशोधन उद्योग स्थापना भएपछि किसानलाई सहजता भएको घोराही–४ डाडागाउँ निवासी बि एण्ड बि मौरी फर्मका सञ्चालक भीमकान्त देवकोटा बताउनुहुन्छ ।
प्रशोधन उद्योग नहुँदा मह प्रशोधनसँगै महको बजारीकरणमा समस्या भए पनि उद्योग स्थापना भएपछि बिक्रीका लागि सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘मह प्रशोधन उद्योग नहुँदा उत्पादन भएको मह बिक्री गर्न समस्या हुने गरेको थियो । उद्योग स्थापना भएपछि महलाई प्रशोधन गरेर प्याकिङ र लेबलिङ गरेर बिक्री गर्ने गरेका छौँ । जसले गर्दा मह बिक्रीका लागि सजिलो भएको छ ।’’
डाँडागाउँमा जस्तै जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरी जोन दाङले किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा करिब एक करोड ५० लाख लागतमा जिल्लाका दश स्थानमा मह प्रशोधन उद्योग स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङकी सूचना अधिकारी चन्द्र शोभा कँडेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मह प्रशोधन उद्योग स्थापनाका लागि मौरी जोन कार्यक्रमसँगै साना तथा मझौला कृषक आयस्तरवृद्धि आयोजना (रिजम), जिआईजेटलगायतका संस्थाको समेत सहयोग रहेको बताउनुभयो ।
सूचना अधिकारी कँडेलका अनुसार घोराही–४ डाडाँगाउँको बि एण्ड बि मौरी फर्मसँगै घोराही–१८ स्थित प्रकृति एग्रीकल्चर सेन्टर,घोराही–१२ हापुरस्थित देउराली मौरीपालन सहकारी सस्था, घोराही–१५ स्थीत शिवशक्ति बि कन्सर्न, १५ नम्बर वडामै राइजिङ बि एपियरी र घोराही–१९ स्थीत सनराइज बि किपिङ सेन्टर, तुलसीपुर उपमहानगरपालिका–६ स्थीत विशाल मौरी फर्म, तुलसीपुर–१२ स्थित आचार्य माहुरी कृषि तथा पशुपंक्षी पालन बहुउद्देश्य फर्म, तुलसीपुर–१७ स्थीत स्मार्ट शिवशक्ति माहुरीपालन फर्म र तुलसीपुरकै वडा नं. १९ मा सूर्याेदय माहुरी फर्ममा उद्योग स्थापना गरिएको छ ।
किसानलाई मह प्रशोधन उद्योग स्थापनासँगै परियोजनामा आबद्ध एक सय ६७ वटा मौरीपालन समूह, सहकारी र फर्मलाई अनुदानमा माहुरीपालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएको छ । अनुदानमा मह प्रशोधन उपकरण, तालिम, भण्डारण ट्याङ्की र प्याकेजिङका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउने गरेको छ । मह उत्पादनका लागि उर्वरभूमि मानिने दाङमा वार्षिक ६ सय ३० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।