• ४ भदौ २०८२, बुधबार

पालिकाको नगर प्रहरी : ‘चेपाङ टिम’ को प्रभावकारी कार्यसम्पादन

blog

शिवकुमार रिजाल (काशी)

मनहरी, भदौ ४ गते । गत आर्थिक वर्षबाट मकवानपुरको राक्सिराङ गाउँपालिकाले व्यवस्थापन गरेको नगर प्रहरीको कार्यसम्पादन सिर्जनात्मक र प्रभावकारी देखिएको छ । 

७ सदस्यीय नगर प्रहरी टोलीको नेतृत्व नेपाली सेनाबाट निवृत्त भएका युवा राजकुमार चेपाङले गरेका छन् । नगर प्रहरीमा एक जनामात्रै गैरचेपाङ छन्, अन्य सबै चेपाङ जातिबाटै प्रतिनिधित्व छ । 

दुर्गम र पिछडिएको क्षेत्र भनेर चिनिएको राक्सिराङ गाउँपालिकामा अहिले वर्षायामको समयमा बिग्रेका र भत्केका बाटोको मर्मत र सरसफाइमा नगर प्रहरी स्वतः परिचालित छ । राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर हुँदै महेन्द्र राजमार्ग क्षेत्रमा रहेको मनहरी बजार आवत जावत गर्ने मनहरी–प्याङ्चे–चैनपुर क्षेत्रका पहिरो हटाउनेदेखि चैनपुरबाट वडा ३ र वडा ४ मा पुग्ने बाटाहरूमा समेत नगर प्रहरीले रातदिन नभनी सरसफाइ गरी अटो र बोलेरो गाडीहरू चल्ने अवस्था बनाइरहेको छ । 

नगर प्रहरी प्रमुख असई राजकुमार चेपाङका अनुसार दिनभर ब्यारेकमा बसेर जागीर खाने मात्रै भन्दा पनि आफ्नो गाउँठाउँका मानिसलाई परिरहेको अफ्ठयाराहरूमा नगर प्रहरीले साथ दिइरहेको छ । राक्सिराङ-४, परेवाभीर र पन्जनी क्षेत्रमा स्थानीय जनताले आयोजना गरेको जनश्रम कार्यमा सहभागी भएको उहाँले बताउनुभयो । 

नगर प्रहरीले स्थानीय मठमन्दिर, गुम्बा, विद्यालय लगायत सार्वजनिक क्षेत्रको सरसफाइ गर्ने, बाटो बनाउने, विभिन्न मेला, चाडपर्व, हाट बजारमा शान्ति सुरक्षा दिने कार्यलाई नियमित काम अन्तर्गत सम्पादन गरिरहेको छ । त्यसैगरी मनहरी बजार क्षेत्रबाट राक्सिराङका पसलहरूमा पुगेका खाद्य सामग्रीहरूको गुणस्तर हेर्ने, उत्पादन र उपभोग्य मिति चेकजाँच गर्दै मूल्यमा एकरूपता ल्याउनका लागि पनि पालिकासँगको समन्वयमा अनुगमन गर्ने कार्य भइरहेकाे प्रहरी सहायक निरीक्षक राजकुमारले बताउनुभयो । 

हालै मात्र नगर प्रहरीले स्थानीय मनहरी तथा चुर्लिङ खोलामा करेन्ट लगाएर माछा मार्न प्रयोग भएका १३ सेट ब्याट्री र अन्य उपकरणहरू बरामद गरी कारबाही गरी गाउँपालिकालाई बुझाएको छ । नगर प्रहरीमा राजकुमारको नेतृत्वमा रक्तदाल, हर्कबहादुर, नवीनकुमार, राजकुमार र अन्जु चेपाङ (प्रजा) हुनुहुन्छ भने एक जना मात्रै गैर चेपाङको रूपमा सरिता कुमारी मोक्तान क्रियाशील हुनुहुन्छ । गत वर्ष खुला प्रतिस्धर्पाबाट उहाँहरू छनोट हुनुभएको थियो। 

नगर प्रहरीमा पूर्व सेना र प्रहरीमा काम गरेकालाई प्राथमिकता दिइएकाले कामको सम्पादन सही ढङ्गले भइरहेको र आशा गरेभन्दा अझ प्रभावकारी परिणाम आइरहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । सवारी साधनका व्यवस्था गर्न सकिए अझै नगर प्रहरीको सेवालाई ९ वटै वडामा प्रभावकारी ढङ्गले पुर्‍याउन सकिने बताएको छ । 

राक्सिराङ नगर प्रहरीले अन्य २ वटा मोटरसाइकल आवश्यक रहेको जनाएको छ ।