• ४ भदौ २०८२, बुधबार

दिल्लीकी मुख्यमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ

blog

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता ।

नयाँदिल्ली, भदौ ४ गते । दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुव्र्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ । दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले मुख्यमन्त्रीलाई थप्पड हाने र त्यसपछि उहाँको हात र कपाल समाते । “आक्रमणका क्रममा मुख्यमन्त्रीलाई हल्का चोट लागेको छ । उहाँको टाउकोमा सानो चोट लागेको छ र हाल चिकित्सकीय परीक्षण भइरहेको छ”, ती अधिकारीले ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन रिपोर्टअनुसार मुख्यमन्त्रीले नागरिकसँग कुरा गर्दै र उनीहरूको गुनासो सुन्दै गर्दा एक व्यक्ति अचानक अगाडि आए । उनले कागजको टुक्रा दिए, चर्को स्वरमा बोल्न थाले, अपशब्द प्रयोग गरे र त्यसपछि थप्पड हाने ।

यसैबिच, गुजरातका मिडिया रिपोर्टका अनुसार आक्रमणकारीकी आमाले आफ्नो छोरा ‘कुकुरप्रेमी’ भएको बताएकी छन् । उनका अनुसार, दिल्ली र आसपासका क्षेत्रमा बेवारिसे कुकुर हटाउने विषयमा हालैको विवादका कारण देशका विभिन्न भागमा शृङ्खलाबद्ध विरोध प्रदर्शन भइरहेका छन्, जसबाट उनका छोरा विचलित भएका थिए ।

एक दिनअघि मात्रै दिल्लीकी मुख्यमन्त्रीले सम्बन्धित सबै अधिकारीलाई कुकुर प्रेमीको भावनामा चोट पुर्याउने वा कुकुरलाई हानि पुर्याउने कुनै पनि कडा कदम नचलाउन कडा निर्देशन जारी गर्नुभएको थियो । पार्टी सीमाभन्दा माथि उठेर राजनीतिक नेताले महिला नेतामाथि भएको आक्रमणको निन्दा गरेका छन् । रेखा गुप्ता सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की नेत्री हुनुहुन्छ । उहाँले यस वर्ष फेब्रुअरीमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । रासस/सिन्ह्वा