• ४ भदौ २०८२, बुधबार

स्याउ भदौभित्रै टिपिने

blog

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), भदौ ४ गते । यस वर्ष मुस्ताङको प्रमुख उत्पादन स्याउ हिन्दु महिलाको पर्व हरितालिका तिजअगाडि नै बजारमा आउने भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष छिटो स्याउ पाकेपछि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला जातको स्याउ यही भदौ ५ देखि टिप्न पाइने भएको हो ।

पछिल्लो समय उच्च घनत्वको स्याउमा स्थानीय आकर्षित भएसँगै कृषकले तीन चरणमा भदौको अन्त्यसम्म टिपेर बजारमा लैजान पाउने भएका छन् । जिल्लाभर ६० हेक्टरमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेती गरिएकोमा यस वर्ष ५० हेक्टर क्षेत्रफलमा उत्पादन हुने छ । 

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले यस वर्ष भदौको अन्त्यसम्म सबै प्रजातिका स्याउ टिप्न सकिने निर्णय गरेपछि कृषक उत्साहित भएका छन् । जिसस प्रमुख गुरुङले उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) गाला भदौ ५ गते, हाइब्रिड किङरट जातको स्याउ भदौ १५ देखि तथा अन्य हाइब्रिड र स्थानीय जातका स्याउ भदौ २५ देखि टिप्न सकिने बताउनुभयो ।

 जिसस प्रमुख गुरुङले भन्नुभयो, “स्याउ मुस्ताङको पहिचान भएकाले काँचो टिप्न निषेध गरिएको थियो । अब हामीले तालिका अनुसार अनुगमन पनि गर्छौं  ।” स्वादिलो स्याउका रूपमा पहिचान बनाएको मुस्ताङबाट काँचो स्याउ बजारमा लैजाँदा पहिचान गुम्ने भन्दै जात र गुणका आधारमा बजारमा पठाउने तालिकालाई कार्यान्वयन गर्न कृषकलाई अनुरोध गरिएको छ । 

आकारप्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्न तोकिएको कार्यतालिकाको समितिले आवश्यकता अनुसार अनुगमनसमेत गर्ने छ । समयअगावै स्याउ टिपेर बजार लैजाने प्रचलनले स्याउको गुणस्तर र बोटको आयुसमेत घट्ने भएकाले कार्यतालिकालाई अनिवार्य गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले बताउनुभयो । 

तापक्रम वृद्धिका कारण स्याउमा छिटो गुलियो पसेकाले स्थानीयबाहेक गाला प्रजातिका स्याउ र किङरट जातको स्याउ टिप्ने समय अगाडि रहेको प्रमुख गुरुङले बताउनुभयो । कृषि ज्ञान केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा मुस्ताङका सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा कृषकको बगैँचामा पुगेर गाला र किङरट स्याउको गुणस्तर परीक्षण गरिएको जानकारीसहित स्याउ उत्पादन तथा विस्तार भइरहेका क्षेत्रबारे छलफल तथा विस्तारका लागि आवश्यक प्राविधिक सहयोगबारे छलफल भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवगणेश चौधरी कुर्मीले बताउनुभयो । स्याउ उपयुक्त समयमा टिपेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने मानिन्छ । 

सबै प्रजातिका स्याउलाई एउटै समय तोक्दा छिटो पाकेका स्याउको गुणस्तरमा कमी आउने भएकाले छिटो पाकेका स्याउलाई भदौमै टिपेर बजार पठाउन पकेट क्षेत्रका कृषकको सुझाव थियो । यस वर्ष अनुकूल मौसमसँगै बगैँचा व्यवस्थापन, रोग तथा किराको समस्या कम रहेको अवस्थामा उत्पादन बढ्ने र ढुवानीसमेत समयमै हुने भएको छ । 

मुस्ताङमा स्थानीय स्याउ ८३० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटबाट छ हजार ७८ मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ । प्रतिहेक्टर १०.७४ मेट्रिक टन स्याउ उत्पादन हुन्छ ।

त्यसै गरी उच्च घनत्वको स्याउ खेती ६० हेक्टर क्षेत्रफलमा फैलिएकोमा आठ हजार ४९६ मेट्रिक टन स्याउ उत्पदान हुने अनुमान गरिएको छ । उच्च घनत्वको स्याउ प्रतिहेक्टर १८.४७ मेट्रिक टन फल्ने विश्वास गरिएको छ । मुस्ताङका बगैँचामा देशभरबाट व्यापारीले बगैँचामा स्याउ नपाक्दै पेस्की लिएरसमेत खरिद गर्ने गरेका छन् ।