• ४ भदौ २०८२, बुधबार

दिदीबहिनी विशेष

तिज पहिले र अहिले

blog

तिसको दशकमा पोखरा–७, मासबारमा जन्मिएँ । छ सात पुस्तादेखि बरालहरू बसोवास गरिरहेको ठाउँ हो यो । सबैभन्दा बढी सरकारी कार्यालय पनि यसै वडामा पर्छन् । करिब तीन सयभन्दा बढी बरालको घरधुरी रहेको यो ठाउँ यति सुन्दर छ कि चारैतिर प्राकृतिक सौन्दर्य मुस्कुराइरहेको देखिन्छ । उत्तरतिर माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण हिमालको स्मित मुस्कानको आभा टल्किइरहेको । उत्तरपश्चिमतिर सराङ्कोटको डाँडा पोखराको शिर बनेर उभिएको । दक्षिणतिर शान्तिस्तुपादेखि हरियाली डाँडाका मनमोहक चुलीहरूको मोहित बनाउने रूप । यिनै चुलीमध्ये व्रिmस्तीनजिकैको फोक्सिङ भन्ने ठाउँमा मेरो मामाघर रहेको छ । जहाँबाट पोखरा उपत्यका हेर्दा कहिले मन अघाउँदैन । यही ठाउँमा मैले तिज पर्वका बाल्यकालीन अनुभूति सँगाल्ने मौका पाएकी छु । तिज आउनासाथ आमा र हामी भान्जीहरू (बहिनी र म) लाई लिन मामा आउनुहुन्थ्यो । बडो उत्सुकताले मामाघर गइन्थ्यो । नयाँ लुगा लगाउन खोजे पनि रातै रङको लगाउने बाध्यता थिएन । त्यति बेला धेरै लुगा हुँदैनथे । कपडा किनेर चाहे अनुसारको डिजाइन सिलाउन दिनुपथ्र्यो ।

दर खाने दिन हामी आउँछौँ भनेर मामाघरमा हजुरआमाले हाम्रो बाटो हेरेर बस्नुहुन्थ्यो । हामी पुग्नासाथ उहाँको अनुहार यति उज्यालो र हँसिलो हुन्थ्यो कि मेरी छोरी र नातिनीहरू आकाशबाट झरे कि धर्तीबाट उम्रे झैँ गरेर माया बर्साउनुहुन्थ्यो । जाँदाजाँदै घिउ राखेको मगमगाउँदो अनदीको लट्टे र काँव्रmाको अचारले हामीलाई पर्खिरहेको हुन्थ्यो भने राति खिर, तरकारी, अचार खाइन्थ्यो । हामी पोखरा उपत्यकाबाट डाँडातिर उक्लेका हुनाले बारीमा फलेको तरकारी (मासबार असाध्यै मलिलो ठाउँ भएकाले) कोसेली लिएर जान्थ्यौँ । मामाघरको बारीमा तिजताका कर्कलो, सागपात मात्र उब्जनी हुन्थ्यो । केराका घरीहरू पकाएर राखिन्थ्यो । भैँसीपालन भएको हुनाले दुध, घिउ प्रशस्त खान दिनुहुन्थ्यो । मावलीको भान्छामा जे पाके पनि अमृततुल्य लाग्दथ्यो । तिजलगायत विभिन्न चाडबाडमा जाँदाका अनुभूति प्रशस्तै छन् अझै पनि । 

अहिलेको जस्तो सञ्चारको साधन त्यति बेला सहज थिएन । अड्कलकै समयमा उठेर दर खाने चलन थियो । एक पटक त भुसुक्क निदाइएछ । बाहिर रिमरिम उज्यालो भए पनि घुमाउने घर भएकाले भित्र अँध्यारो थियो । हजुरआमाले ढोका लगाएर दर खुवाउनुभएको दृश्य अहिले सम्झँदा हाँसो उठ्छ ।

भोलिपल्ट घरनजिकै चौतारोमा स्थानीय दिदीबहिनी र माइत आएका चेलीहरू भेला भएर गीत गाउँथे । त्यो दृश्य आँगनबाट देखेपछि हामी पनि उत्फुल्ल मुस्कानका साथ मिसिन पुग्थ्यौँ । नचिनेकाले कसकी भान्जी ? कहिले आएकी भनेर अनेक खालका सोधीखोजी गरेर आत्मीयता देखाउँथे । हाम्रो बालमस्तिष्क यतिकैमा पनि त्यसै त्यसै फुरुङ्ग पथ्र्यौं । चौतारामा सबै जना भेला भइसकेपछि गीत गाउँदै  टुँडिखेल जस्तो खुला डाँडासम्म गइन्थ्यो । त्यहाँ हाटबजार जस्तै मेला लाग्दथ्यो । पाकेका काँव्रmा, अम्बालगायत अन्य स्थानीय उत्पादन बेच्न राखिन्थ्यो । उत्पादन मात्र होइन, ठेलमठेल भिडभाडको पनि विचित्र मेला लाग्थ्यो । अनेक समूह समूहमा तिजे गीत प्रतियोगिता नै हुन्थ्यो । एउटा रमाइलो चाडको रूपमा तिज पर्वलाई मेरो बालमस्तिष्कले हेर्ने गर्दथ्यो । त्यहीमध्येको एउटा गीत मलाई अझै पनि सम्झना छ ः

बाबाले सारेको सुन्तलाको बिरुवा

आमाले हुर्काउनुभो, पानी हालेर

सानैमा मलाई मुन्द्री लाउने रहर

आमाले किन्दिनुभो, बाख्रा पालेर

आमाले पकाएको, मिठो दर खानी हो

तिजमा माइती, घरै जानी हो ।

 तिजको व्रतमा आमा हजुरआमाले पानी भने पिउनुहुन्थ्यो । पानी पिए शिवजीको रगत पिएसरह हुन्छ भन्ने कट्टरता अपनाएको भने कहिले देखिनँ । बेलुका शिवजीको मन्दिरमा पूजाअर्चना गरेपछि फलाहार गर्नुहुन्थ्यो भने अशक्त कमजोरहरूले रोटी र दुध खाने चलन थियो । तत्कालीन समयमा मनका उत्पीडन माइत आएर साटासाट गर्ने चलन थियो । तिज पर्वलाई दिदीबहिनी मिलन र माइतीघरको न्यास्रोसँग मेटेर खुसी हुने पर्वका रूपमा लिइन्थ्यो । कुनै कुनै साल मामाघर जान सकिएन भने पोखरामै मनाइन्थ्यो । गाइनेले समेत तिजका बेला तिजकै भाकामा गीत गाइदिन्थे । कतैकतै छोरीबुहारीलाई हत्या गरेका घटनालाई गीतिलयमा उनेर गाउँथे । दस बाह्र वर्षकी हुँदादेखि नै म जानीनजानी तिजका गीत लेख्थेँ । भाका हालेर गाउन प्रयत्न गर्थें । 

घरनजिकैको चौरमा जब आमा दिदीबहिनीहरू गोलो लगाएर गीत गाउन बस्थेँ । म पनि त्यही गोलो घेराभित्र छिरेर बिचमा बस्थेँ र तिजको भाका फुराउन थाल्थेँ । चालिसको दशकमा सेती नदीको पानीलाई नहर बनाएर घरघरै ल्याउन चाइनिज सरकारले काम गरेको थियो । आकासे पानीको भरमा मात्र खेती गर्नुपर्ने तत्कालीन बाध्यतामा यो कामको सर्वत्र प्रशंसा भइरहेको थियो । मैले यसै सन्दर्भलाई विषय बनाएर तिजे गीत रचना गरेकी थिएँ । 

चाइनिजले नहर ल्यायो 

हाम्रा बस्ती बस्तीमा

तिजे गीत गाउन पाइयो 

यही मस्तीमा... ।

फेरिँदै गएको तिज

समयसँगै हाम्रा चाडबाडका मान्यता र सीमाहरू परिवर्तन हुँदै गएका छन् । हिजो उत्पीडनमा बाँचेका महिला दिदीबहिनी र छोरीहरू आज स्वतन्त्र हुँदै गएका छन् । शिक्षाको चेतनासँगै छोरीहरूभित्र विवेकको ढोका खुल्दै गएको छ । आपूmमाथिको विभेद, थिचोमिचो र अन्यायको प्रतिकार गर्न सक्ने भएका छन् । पहिला यी कुरा अभिव्यक्त गर्न तिज आउनुपथ्र्यो । तिजभाकामा पीडाको लय भर्नुपथ्र्यो । आजका दिनमा  शिक्षा र जागिरे कर्मको कार्यतालिकामा बाँधिदा हाम्रा छोरीहरूलाई भ्याइनभ्याइ छ । तिज आयो भन्दै माइत गएर दर खाने फुर्सदसम्म छैन । आपूm जहाँ काम गरिन्छ त्यही दर खाने परिपाटी बसिरहेको छ  । स्वालम्बनसँगै आर्थिक स्वामित्वमा आफ्नो उपस्थिति खोजिरहेका छन् ।

अर्कोतर्फ परम्परागत तिजेभाकाहरू लोप हुँदै गएका छन् । परिवार सबै मिलेर सुन्न नसकिने भाकाहरूले तिजको नाममा विकृति निम्त्यााइरहेको छ । युट्युबमा भ्युज बढाउनकै लागि गाइने अश्लील गीतहरूले सीमित वर्गको स्वार्थ पूरा होला तर त्यसले समाजमा पार्ने प्रभावका बारेमा पनि सोच्न ढिला भइसकेको छ । पुँजीवादी उपभोक्तावादी संस्कृतिले हरेक चाड खर्चिलो हुँदै गए झैँ तिज पनि भड्किलो बन्दै गइरहेको छ । एउटै रङको साडी, शृङ्गारका साधन र अनेक गहनाको होडबाजीले एकातर्फ तिज पर्वको मौलिकतामाथि प्रश्न उठाइरहेको छ भने अर्कोतर्फ हाम्रै कारणले विदेशी बजार चम्किरहेको छ । सामाजिक सञ्जालमा चमकधमक तस्बिर देखाउने मोहले पनि हरेकलाई तानिरहेको छ । वास्तविक मूलमर्म एकातिर खोव्रmो प्रदर्शन अर्कातिर भइरहेको स्थितिलाई हामी टुलुटुलु हेर्न बाध्य छौँ । हप्तौँ अगाडि खाइने दर संस्कृतिले समाजमा विभेद सिर्जना गर्नेतर्फ हामी नै उद्धत भइरहेका छौँ । हुँदा खाने र हुनेखानेबिचको द्वन्द्वले समाज अस्वस्थ बन्दै गइरहेको छ । यसतर्फ हामी सचेत भएर बेलैमा न्यूनीकरणतर्फ लागेनौँ भने हामीलाई नै असजिलो पर्ने छ ।

कहिलेदेखि मनाइयो तिज

तिज मनाउने प्रचलनका बारेमा स्पष्टसाथ मिति किटान गर्न सकिन्न तापनि यो पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । धार्मिक कथन अनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले तिज मनाउँदै आएका छन् । यही मान्यतालाई अनुसरण गर्दै  विवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तिजको व्रत बस्ने नेपाली चलन छ । तिज पर्वले व्रत, उपवास र उपासना आराधनाको महìव देखाएको छ । यही माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै आस्था र भक्तिपूर्वक कर्म गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने सन्देश दिएको देखिन्छ । 

अन्त्यमा, तिज पर्वले माइती र चेलीको सम्बन्धलाई भने सदैव मजबुत पारेको देखिन्छ । माइतीघरबाट टाढिएका छोरीहरूलाई कमसेकम यही पर्वले भए पनि हरेक साल नजिक जुटाउँछ । चेलीको महìव दर्साउँछ । बाल्यकालका साथीहरूसँग भेट गराएर मन हलुका पार्ने र सुखदुःखका कुराकानी गर्ने अवसरसमेत यही पर्वले जुटाइदिन्छ । तिजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दैै लैजानु अहिलेको आवश्यकता हो । अन्धविश्वासलाई चिरेर यसका सुखद पाटाहरूको सम्वर्धन गर्न सके तिज पर्व उल्लासमय र संस्कारी पर्व रहने कुरामा दुई मत छैन ।  मधुपर्क