• ४ भदौ २०८२, बुधबार

राप्ती नदीको सिधनियाघाटमा पुल र नदी नियन्त्रणको काम एकसाथ

blog

बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा निर्माण भइरहेको पक्की पुल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, भदौ ४ गते ।
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्की पुल निर्माण कार्यमा करिब ५० प्रतिशत प्रगति भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुल निर्माणको कार्यमा हालसम्म भौतिक र वित्तीय गरी करिब ५० प्रतिशत प्रगति भएको छ । 
योजना प्रमुख भण्डारीले भन्नुभयो, “सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लाग्यो, अब असारभित्र निर्माण सम्पन्न हुने गरि काम तीव्र गतिमा भइरहेको छ ।”

सिधनियाघाटमा करिब डेढ दशक अघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि  फराकिलो पुल निर्माण थालिएको हो । पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको लागत भ्याटसहित एक अर्ब १९ करोड रुपियाँ छ ।

सिधनियाघाटमा अब ७०० मिटर पुल र एकहजार ४८० मिटर एप्रोच सडक  र ४ किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने योजना प्रमुख भण्डारीको भनाइ छ ।

यसैगरी, ३०० मिटर ढलानको काम हुनेछ । हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण थालिएको हो । स्थानीयले पुलको लम्बाइ ४४० मिटर थप गरी एक हजार १४० मिटर पुर्‍याउन माग गरेपछि योजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पठाएको छ । आयोजनाका निर्देशकसहितको उच्च स्तरीय टोलीले पुल निर्माण स्थलमै पुगेर स्थलगत जानकारी लिएर फर्किसकेको छ ।

हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारी साधनहरु पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता  छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहज वारपार गर्न सकिनेछ । भारतीय सीमासँग जोडिएको नरैनापुर गाउँपालिका यही पुल भएर जानुपर्दछ ।