• ४ भदौ २०८२, बुधबार

आंशिक प्राध्यापकहरुको आन्दोलन जारी, पठनपाठन ठप्प

blog

आन्दोलनरत भोजपुर बहुमुखी क्याम्पस भोजपुरका आंशिक प्राध्यापकहरु । तस्बिर :गोकुल भुजेल

गोकुल भुजेल
भोजपुर, भदौ ४ गते ।
आंशिक प्राध्यापकहरूको मागलाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेपछि सुरु भएको आंशिक प्राध्यापकहरूको चरणबद्ध आन्दोलन बुधबारसम्म जारी छ । आन्दोलनका कारण पाँच दिनदेखि क्याम्पसमा पठनपाठन पूर्णरुपमा ठप्प छ । विश्वविद्यालयले गत वर्ष साउन १८ गते ‘घ’ वर्गको क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरूलाई शिक्षण सहायकमा नियुक्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अहिलेसम्म नियुक्ति नदिएपछि आन्दोलन सुरु भएको थियो । क्याम्पसको ८० प्रतिशत पठनपाठन आंशिक प्राध्यापकहरुले सञ्चान गर्दै आएका ‘घ’ वर्गका क्याम्पसमा आंशिक प्राध्यापकहरु नै आन्दोलित हुँदा पठनपाठन प्रभावित भएको हो । पठनपाठन सुचारु गर्न क्याम्पस प्रशासनले आन्दोलनरत प्राध्यापकहरुसँग छलफल गरे पनि माग सम्बोधन नहुन्जेलसम्म पेन डाउन गर्ने प्राध्यापकहरुको अडान छ ।

विश्वविद्यालयको प्रशासनले पटक–पटक आफूहरूलाई आश्वासन दिए पनि अझैसम्म मागहरू सम्बोधन नभएपछि आफूहरूले आन्दोलन गर्नुपरेको भोजपुर बहुमुखी क्याम्पस भोजपुरका आंशिक प्राध्यापक सङ्घर्ष समितिका संयोजक शक्तिराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘साउन ३० गते हातमा कालो पट्टी बाँधेर विरोध गरेका थियौँ । क्रमशः भदौ १ देखि ५ गतेसम्म पेनडाउन गरेका छौँ । हाम्रो मागप्रति त्रिभुवन विश्वविद्यालय बेखबर अर्थात् बेवास्ता गर्दा यो अवस्था सृजना भएको हो । अझै विश्वविद्यालयको प्रशासनले माग पूरा नगरे आन्दोलनलाई थप सशक्त बनाउने तयारी छ ।”

पठनपाठन ठप्प हुँदा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अन्योलमा परेका छन् । गाउँबाट पढ्न सहर आएका विद्यार्थीहरु पठनपाठन ठप्प भएसँगै अब के गर्ने भनेर अलमलमा परेको भोजपुर बहुमुखी क्याम्पसका स्ववियुका सचिव जीवन राईले जानकारी दिनुभयो । क्याम्पसका प्राध्यापकहरूले आफ्नो अधिकारका लागि लड्दै गर्दा विद्यार्थीहरुको शैक्षिक अधिकार हनन भएको प्रति खेद व्यक्त गर्दै तत्काल समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शैक्षिक क्यालेण्डर अनुसार नयाँ विद्यार्थी भर्ना, कक्षा सञ्चालन, लगायत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ यस विषयमा क्याम्पस प्रशासन तथा सरोकारवाला थप जिम्मेवार हुन आवश्यक छ ।”

यता, क्याम्पस प्रमुख डा.पर्वतकुमार राईले त्रिविको कार्यकारी परिषद्ले गरेको निर्णयका बारेमा क्याम्पस प्रशासनको भूमिका नभए पनि आदेश अनुसार आफूले निर्णय कार्यान्वयन गर्ने भएकाले समस्या समाधानका लागि पहल गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राध्यापकहरुको आन्दोलनले क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।  आन्दोलनरत प्राध्यापकहरुको मागका बारेमा केन्द्रीय विभागलाई जानकारी दिएका छौँ, तर माथिबाट केहि सूचना आएको छैन ।”

त्रिभुवन विश्वविद्यालय र आंशिक प्राध्यापक सङ्घर्ष समितिबिच २०८१ साउन १८ गते सहमति भई त्रिवि कार्यकारी परिषद्ले आंशिक प्राध्यापकहरूलाई रिक्त दरबन्दीमा शिक्षण सहायक पदमा नियुक्ति गर्ने सहमति भएको थियो । जस अनुसार ‘घ’ वर्गअन्तर्गतका क्याम्पसहरूलाई कार्यविधि बनाई आंशिक व्यवस्थापनमा कार्यरत शिक्षक र कक्षा भार पुगेका कार्यरतलाई शिक्षण सहायक पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय अनुसार भोजपुर क्याम्पसले समेत सम्पूर्ण प्रक्रिया पुर्‍याएर अनुमोदनका लागि त्रिवि परिषदमा पठाएको थियो ।

गत वर्ष चैत्र २७ र २८ गते विभिन्न विषयमा कार्यरत १७ जना आंशिक प्राध्यापकले कार्यविधि अनुसार सबै प्रक्रिया पूरा गरी प्राप्ताङ्कसमेत पाएको र सो निर्णय त्रिवि कार्यकारी परिषदमा पठाइएको थियो । सहमति अनुसार सबै प्रक्रिया पूरा भई अनुमोदनका लागि पठाइएको निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको सङ्घर्ष समितिका संयोजक राईको भनाइ छ ।  

क्याम्पसका आंशिक प्राध्यापक सुरेन्द्र कार्कीका अनुसार क्याम्पसमा विगतका दुई वर्षे कोर्सको पनि समयावधि बढेको छ । यो अवस्थामा थप जनशक्ति आवश्यक देखिन्छ, तर त्रिविले भएका निर्णयहरू समेत कार्यान्वयन नगरेर आंशिक प्राध्यापकहरूको श्रम शोषण गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयले सहमति भएका निर्णयसमेत कार्यान्वयन नगर्नु  दुःखद भएको प्राध्यापक चन्दन कटुवालले बताउनुभयो । आंशिक प्राध्यापकहरूको आन्दोलनका बारेमा केन्द्रीय विभाग र क्याम्पस प्रशासन जानकारी भएकाले माग सम्बोधन नहुन्ज्यालसम्म पूर्व निर्धारित आन्दोलनहरू यथावत् रहने साथै माग पूरा नभएसम्म पठनपाठन प्रभावित हुने प्राध्यापक नवराज सापकोटाले बताउनुभयो ।

भोजपुर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय तथा मानविकी र सामाजिक शास्त्र सङ्काय गरी तीन सङ्कायमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।