बबई समाचारदाता
बबई (बर्दिया), भदौ ४ गते । कर्णाली नदीले तीव्र रूपमा कटान सुरु गरेपछि बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् । नदी कटान रोक्न स्थानीयवासीसँगै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले समेत श्रमदान गरेर अस्थायी तटबन्ध निर्माण कार्य थालेका छन् ।
लगातारको वर्षासँगै कर्णाली नदीमा पानीको बहाब बढेपछि १० वर्षअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेको हो । तटबन्ध भत्किएसँगै अनन्तपुर, शिवपुर, दलैगाउँ, घुम्ना, सङ्घर्ष नगरलगायतका बस्ती डुबानको उच्च जोखिममा परेका छन् । खतरा बढेपछि दैनिक तीन सयभन्दा बढी स्थानीयले बोरा र झाला पाता प्रयोग गरेर अस्थायी तटबन्ध बनाउने काम गरिरहेका छन् तर ती तटबन्ध पनि बाढीले बगाउँदा जोखिम अझ बढ्दो क्रममा छ ।
राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारू स्वयं श्रमदानमा सहभागी हुँदै अस्थायी तटबन्ध बनाउन अग्रसर हुनुभएको छ । उहाँले कर्णालीको कटान रोक्न तत्काल ठोस कदम नचालिए ठुलो जनधनको क्षति हुन सक्ने बताउनुभयो ।
स्थानीय बासिन्दा जलवीर थारूले बजेट नहुँदा सम्बन्धित कार्यालयले मर्मतसम्भार गर्न नसकेको आरोप लगाउँदै समस्या समाधानका लागि आफैँ जुट्नु परेको बताउनुभयो । दलैगाउँका गोपाल थारूले कटान नरोके स्थानीय त्रसित भएर बस्नुपर्ने बाध्यता आएको बताउनुभयो ।
यसैबिच सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले गतवर्ष नै नदी व्यवस्थापनका लागि स्रोत सहमतिका पत्र मन्त्रालयमा पठाइए पनि आवश्यक स्वीकृति नआएकाले काम अघि बढ्न नसकेको जानकारी दिनुभयो । कर्णाली नदीको कटान निरन्तर भइरहेकाले दलैघाट मात्र नभई राजापुर नगरपालिकाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा पर्ने जोखिममा रहेको सरोकारवालाले चेतावनी दिएका छन् ।