सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, भदौ ४ गते । हरिहरपुरगढी गाउँपालिका–२, झनझने निवासी किसान कमल राई गाउँमा धमाधम लिफ्ट सिँचाइ योजना निर्माण भएसँगै हर्षित हुनुहुन्छ । उक्त योजना निर्माणसँगै आफूसँग भएको १० कट्ठाभन्दा बढी खेतमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएपछि उहाँ खुसी हुनुभएको हो ।
“डिलमुनि बागमती नदी बाह्रै महिना बग्दछ, २० मिटरमाथि डाँडाको सयौँ बिघा खेत सिँचाइका लागि सधैँ आकाशे पानीमै निर्भर थियो,” उहाँले भन्नुभयो, “गत वर्षदेखि बागमती लिफ्ट सिँचाइ योजना निर्माण भएसँगै हामी उत्साहित छौँ । उक्त योजना निर्माण सम्पन्न भएपछि चैनपुर, झनझने, श्रीपुर र चौँरी टोलका तीन सय बिघाभन्दा बढी खेतमा सिँचाइ सुविधा उपलब्ध हुने छ ।”
टारी परेको उर्वर जमिन भएर पनि बर्सौंदेखि सिँचाइका अभावमा वर्षको तीन बाली हुने ठाउँमा स्थानीय किसानले एक बाली मात्रै खेती गर्दै आएको उहाँले गुनासो सुनाउनुभयो । बागमती प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीले बहुबर्से योजना अन्तर्गत करिब चार करोड रुपियाँको लागतमा लिफ्ट सिँचाइ आयोजना अगाडि बढाएपछि स्थानीय किसान उत्साहित छन् ।
वडाध्यक्ष विश्व राई पनि बागमती लिफ्ट सिँचाइ योजनाले विपन्न किसानको आयस्तरमा सुधार ल्याउनुका साथै जीवनस्तरमै सुधार गर्ने धारणा राख्नुहुन्छ । “उक्त सिँचाइबाट करिब २५० किसानका खेतमा सिँचाइ सुविधा पुग्ने भएको छ,” उहाँले भन्नुभयो, “योजना गत आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु भएको र काम सक्न अझै दुई वर्ष जति लाग्छ ।” उक्त योजना अन्तर्गत गत आवमा विनियोजित २५ लाख रुपियाँको लागतमा बागमती नदीमा इनार खन्ने, मोटर राख्ने घर, पाइप खरिदलगायतका काम भएको र यो वर्षका लागि ९० लाख रुपियाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो । लिफ्ट सिँचाइ मात्र नभई कार्यालयले नजिकैका खोलामा पक्की संरचनासहितको कुलो र ड्याम पनि निर्माण गरिदिएको छ । जसले गर्दा बर्खामा भेल पसेर हैरान हुने किसानलाई समयमै रोपाइँ गर्न सहज भएको स्थानीय बताउँछन् ।
कार्यालय प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेले बागमती लिफ्ट सिँचाइ योजना अब दुई वर्षभित्र सक्ने योजना रहेको जानकारी दिनुभयो । कार्यालयले जिल्लाभरमा गत आर्थिक वर्ष २०८१/८२ मा सिँचाइका १९५ वटा योजना सम्पन्न गरेको छ । ती योजनाबाट थप तीन हजार ७५.५ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको उहाँको भनाइ छ । ती योजना सम्पन्न गर्न २० करोड ५९ लाख ७५ हजार रुपियाँ बजेट विनियोजन भएकोमा १९ करोड ७९ लाख ६५ हजार रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सिँचाइका खुद्रे योजनामा समय र जनशक्ति त्यति नै लाग्ने हुँदा कार्यान्वयनमा कठिनाइ भएको छ । गत आवमा सम्पन्न गरेकामध्ये पाँच लाख रुपियाँका ५८ वटा र त्योभन्दा माथि १० लाख रुपियाँसम्मका ७५ वटा योजना रहेका थिए । कार्यालय प्रमुख पाण्डेले भन्नुभयो, “ठुला तथा साना योजनालाई समय र जनशक्ति त्यति नै खर्चिनुपर्ने भएकाले कार्यान्वयनमा कठिनाइ भएको हो ।”
साना योजनालाई स्थानीय तहमै दिएर २० लाखदेखि माथिको लागत योजना मात्रै कार्यालयमातहत दिए काम गर्न सहज हुने उहाँको भनाइ छ । “हामीलाई साना योजना धेरै हुँदा काम गर्ने दिन पुग्दैन, उपलब्ध जनशक्ति अनुसार अहिले दैनिक चार वटा योजनाको मात्रै काम गर्न भ्याइन्छ,” उहाँले भन्नुभयो, “आवको सुरुतिर वर्षाको मौसम सुरु हुने हुँदा झन्डै ९० दिन फिल्डमा पुग्न सकिँदैन । कर्मचारीले पाउने विभिन्न बिदा हेर्दा काम गर्ने दिन नै पुग्दैन ।” बागमती प्रदेश सरकारले चालु आव २०८२/८३ का लागि पनि २०२ वटा सिँचाइका योजना स्वीकृत गरी पठाएको कार्यालयले जनाएको छ ।