• ४ जेठ २०८१, शुक्रबार

नौसय घरलाई जस्तापाता वितरण

blog

राजु लामिछाने

रुकुम पश्चिम, असार १० गते । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ । शुक्रबारबाट नगरपालिकाले पहिलो चरणमा नौसय घर परिवारलाई जस्तापाता वितरण गरेको छ । 

नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुनेभएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुश गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले बताउनुभयो । आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उहाँको भनाइ छ ।  

अब नगरपालिकाले वडाअनुसार जस्तापाता वितरण गर्ने जनाएको छ । नगरपालिकाले खरका छाना भएका घरहरुको सङ्ख्या भने पहिले नै सङ्कलन गरिसकेको छ । वडा १ मा ५० घरपरिवारलाई जस्तापाता वितरण गरिनेछ । वडा २ मा ४६ घरपरिवार, ३ मा ८७ घरपरिवार, ४ मा ४४ घर परिवारलाई वितरण गरिने कार्यालयले जनाएको छ । 

त्यस्तै, वडा ५ मा ५१ घरपरिवार, ६ मा ५५ घरपरिवार, ७ मा ४३ घरपरिवार, ८ मा ३६ घरपरिवारलाई र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा १० मा ७१ घरपरिवार, ११ मा ७२ घरपरिवारलाई, १२ मा ५८ घरपरिवार, १३ मा ४१ घरपरिवार र  १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ । 

अति विपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानोमुनि जनता ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड रुपियाँ बजेट विनियोजन गरिएको जनाएको छ । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताको आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ ।