• ४ भदौ २०८२, बुधबार

पर्यटकको रोजाईमा पर्दै गाजा दह

blog

जैमिनि नगरपालिका ३ मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको गाजा दह । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ४ गते ।
गाजाको दहसँग थुप्रै मिथक र किम्बदन्ती जोडिएका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । दहमा पातपतिङ्गर हुँदैनन । पात पतिङ्गर चराले सफागर्ने यहाँको किम्बदन्ती छ ।

शिव र पार्वती घुम्दै आउँदा पर्वतले पानी पिएको ठाउँको रुपमापनि लिइन्छ । शिवले केही माथीको ठाउँमा बसी गाजा खाएको र त्यहि क्रममा पार्वतीले तिर्खा लाग्योभन्दा शिवले जमिनमा त्रिशुल हानी पानी निकालिदिएको मिथक छ ।

यहाँ शिद्ध बराह घुम्दै आउँदा ठाउँ मन परेर यहाँ बसेकोपनि कथन छ । त्यसैले यहाँ सिद्ध बराहको मन्दिर निर्माण गर्नुका साथै उनको पूर्ण कदको शालीक निर्माण गरिएको छ ।

पटक–पटक समुन्द्रमा जस्तै छाल निस्कने गरेकोपनि स्थानीयको भनाइ छ । काई प्रभु भन्ने होम कुण्ड रहेकोले त्यसको अध्ययनकोलागि उत्खनन गरिने बताइएको छ ।

गाजा दहको नजिकै सिद्ध थान रहेको छ । यहाँ बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा सतबिज झर्नेको भीड लाग्ने गर्दछ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दहमा नुहाउने भक्तजन उत्तिकै हुन्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

मेला पर्व पारेर लोकदोहोरी, सोरठी, सालैजो र विनासालैजो जस्ता संस्कृति समेत प्रदर्शन गर्ने चलन रहेको जैमिनी नगरपालिका–३का वडा अध्यक्ष कृष्ण भुजेलले बताउनुभयो ।

यो बागलुङ जिल्लाकै शान रहेको उहाँको बुझाइ छ । ‘‘यो बागलुङ जिल्लाकै पर्यटकीय क्षेत्रको शान हो, प्रकृतिको सुन्दर उपहार हो ।’’ भुजेलले भन्नुभयो, ‘‘हरेक सिजन यहाँ घुम्न र आनन्द लिन सकिने भएकोलेपनि यो पर्यटकीय क्षेत्रको शान हो ।’’

गाजा दह समुन्द्री सतहदेखि २४७० मिटर उचाईमा रहेको छ भने गाजा धुरी २८८० मिटर उचाईमा रहेको छ । यसको गहिराई ११ देखि १५ मिटर रहेको छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल देखिन्छ ।

उच्च पहाडमा भएकोले हेमन्त ऋतुमा हिउँ फूल सिउरिन्छ गाजा दह । वसन्त ऋतुमा लालिगुराँसले ढकमक्क बन्छ भने बर्षा र गृष्म ऋतुमा बादलुको घुम्टो भित्र घुर्सिन्छ ।

जङ्गल छेवैमा भएर पनि यो ताल सधैँ सफा रहन्छ । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै स्थानहरु देख्न सकिन्छ ।

बागलुङ सदरमुकामदेखि २४ किलोमिटरमा पर्ने यहाँ कुश्मीसेरा–दमेक हुँदै पुग्न सकिन्छ भने बागलुङ पश्चिम, सिगाना हुँदै पनि यस स्थानसम्म पुग्न सकिन्छ । यहाँ गलकोट , काठेखोलाको रेशबाट पनि सहजै पुग्न सकिन्छ । यहाँ आउने पर्यटकलाई बस्नका लागि होम–स्टे र राम्रो व्यवस्थापनका साथमा होेटलहरु रहेका छन् । यी होम–स्टे र होटलहरुमा स्थानीय उत्पादनको स्वाद लिन सकिन्छ ।