वालिङ समाचारदाता
वालिङ (स्याङ्जा), भदौ ४ गते । युवालाई रोजगारी र सिपसँग जोड्न गण्डकी प्रदेशका १० स्थानमा ‘करियर बुथ’ स्थापना गरिएको छ । काठमाडौँ विश्वविद्यालय र इटिएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (आइल्याब) नेपाल कार्यक्रम अन्तर्गत गण्डकीका १० स्थानमा बुथ स्थापना गरिएको हो ।
युवालाई रोजगारी, सिप तथा युवाको सुनौलो भविष्यसँग प्रत्यक्ष जोड्न करियर बुथको स्थापना गरिएको आइल्याब गण्डकीका संयोजक तथा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसको मुख्य लक्ष्य बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्नु, विभिन्न संस्थालाई दक्ष जनशक्ति उपलब्ध गराउनु तथा कामदारलाई उनीहरूको सिप र रुचि अनुसार मार्गदर्शन गर्नु हो ।” रुचि र क्षमताबारे स्पष्ट नभएका, काममा संलग्न तर अपूरा दक्षता भएका, अनौपचारिक रूपमा दक्षता हासिल गरेका, अनुभवी र पेसागत रूपमा स्थापित व्यक्तिले यो कार्यक्रमबाट प्रत्यक्ष फाइदा लिन सक्ने बताइएको छ । रोजगारी र सिपलाई जोड दिँदै पहिलो चरणमा प्रदेशका १० स्थानमा करियर बुथ सञ्चालन गर्ने सम्झौतामा आइतबार पोखरामा हस्ताक्षर गरिएको हो ।
प्रदेशका रोजगार सूचना केन्द्र पोखरा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश, गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका, माछापुच्छ«े गाउँपालिका, पोखरा प्राविधिक शिक्षालय, किसान प्राविधिक शिक्षालय, उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युटबिच करियर बुथको स्थापनाका लागि हस्ताक्षर गरिएको छ ।