• ४ भदौ २०८२, बुधबार

जोखिममा चुरे क्षेत्रका वस्ति

blog

बाढी र वर्षाले क्षतिग्रस्त भुल्के खोलाको तटवन्ध मर्मतका लागि पुगेको डोजर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, भदौ ४ गते ।
महोत्तरीको उत्तरी भेगमा परेको वर्षाले चुरे क्षेत्रका वस्तिहरुलाई जोखिममा पारेको छ । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चुरे भेगका पाँच वटा वडाका दर्जनभन्दा बढी वस्ति जोखिममा परेको वडाध्यक्षहरुको भनाइ छ ।

लगातारको वर्षापछि धेरै ठाउँमा आवागमन ठप्प भएको छ भने कतै बाढीले खानेपानीेको मुहानमासमेत क्षति पुर्‍याएपछि जनजीवन थप कष्टकर बनेको छ ।

वडा नं ३ का वडाध्यक्ष विराट विष्टका अनुसार भुल्के खोलाको बाढीले सुदूर उत्तरवर्ती पर्साइधाप गाउँ नै जोखिममा परेको छ । 

बाढीले जीर्ण अवस्थाको तारजालीमा क्षति पुर्‍याएपछि ११२ घरधुरी रहेको पर्साइधाप र त्यहाँको दुई सय बिगा खेतीयोग्य जमिन कटानको जोखिममा छ ।

स्थानीय मैते मुक्तानकाअनुसार बाढीले गाउँदेखि २ किलोमिटर उत्तर जालीसहित तटवन्ध उधिनेकाले जोखिम बढेको हो ।

उहाँले भन्नुभयो, ‘‘ठुलो बाढी आयो भने वस्ति नै बगाउने खतरा छ । त्रासले गाउँलेको भोकतीर्खा हराएको छ ।’’

वडाध्यक्ष विष्टले भन्नुभयो, ‘‘खोलासम्म डोजर पुर्‍याउन सकिए पनि बाढी आउने क्रम नथामिएकाले पूर्ण क्षमतामा तटवन्ध मर्मत गर्न सकिएकोे छैन ।’’

चुरे भेगमा मङ्लबार अपराह्न पनि वर्षा भएपछि खोला पुगेको डोजरले काम गर्न नसकेको स्थानीयले जनाएका छन् ।

विष्टका अनुसार वर्षा लागे यता वडाको पर्साइधाप मात्र जोखिममा छैन । रातु र उर्रा खोलाको क्षतिले राजावास, कालापानी र मर्का गाँउबीचको सम्पर्क पनि कटेको छ ।

विष्टले भन्नुभयो, ‘‘यी वस्तिको अवस्था पीडादायी छ । पाटूदेखि भवसी जाने बाटो पनि क्षतिग्रस्त छ । यी भेगमा सवारी आवागमन ठप्प हुँदा सुत्केरी बिरामीको विचल्ली छ ।’’

बाढी र वर्षाले वडा नं ४ लाई पनि दुःख दिएको छ । त्यहाँको राना टोल जाने बाटोमा क्षति पुग्दा आवागमन बन्द छ । वडाध्यक्ष अक्कलबहादुर तामाङका अनुसार चेरु खोलाले भक्तीपुर खानेपानी मुहानमा क्षति पुर्‍याउदा सय परिवार समस्यामा छन् ।

वडाध्यक्ष तामाङले भन्नुभयो, ‘‘खोलाको लेदो माटोले मुहान धमिलिएको छ । मुहानको आपतकालीन सुरक्षाका लागि वडा र नगरपालिका मिलेर प्रयास सुरु गरेका छौं ।’’

दर्जनभन्दा बढी खोला र खहरेको घेरावन्दीमा परेको वडा नं ५ पनि बाढी र वर्षाले आक्रान्त छ । बाढी बर्षाले धान खेत र बाटोघाटोमा क्षति पुग्नाले वडाको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।  

स्याङतानले भन्नुभयो, ‘‘वडामा मडाहा, सिर खोला, ढुङग्रे, टुटेश्वर र गढन्ता गरि ५ वटा ठुला नदी छन् । त्योभन्दा बढी खहरे र खोल्सीहरु छन् । बाढी आउदा वडाको आवागमन घण्टौसम्म ठप्प हुन्छ । बाढी घटेपछि पैदल आवागमन खुले पनि क्षतिग्रस्त सडकमा सवारी गुडन सकेको छैन । वरडाँडासमेत सुदूर उत्तरवर्ती वस्तिको सम्पर्क अहिले पनि टुटेको छ ।’’

खोला र खहरेमा आएको बाढीले नगरक्षेत्रको खयरमारास्थित वडा नं १० र ११ को अवस्था पनि प्रभावित भएको वडा नं १० का वडाध्यक्ष प्रमोद मोक्तानले बताउनुभयो ।

भौगोलिक विषमता रहेको महोत्तरीमा योपटक बाढी र वर्षाको प्रकोप जिल्लाको चुरे क्षेत्रमा देखिए पनि दक्षिणी भेगमा भने भदौ लागि सक्दा समेत अनावृष्टीको अवस्था छ ।