• ४ भदौ २०८२, बुधबार

नक्कली प्रमाणपत्रको जालो, भारतीय नागरिक पक्राउ

blog

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता 

भैरहवा, भदौ ४ गते । नेपाल–भारत सीमावर्ती नाका रुपन्देहीको बेलहियाबाट प्रहरीले हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई होटेलमा कोठा लिने क्रममा नियन्त्रणमा लिइएको हो । 

प्रहरीका अनुसार यादवसँग त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटीलगायतका संस्थाका नाममा बनाइएका प्रमाणपत्र र होलोग्राम, भारतका विभिन्न विश्वविद्यालयका प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र पनि बरामद भएका छन् । हजारौँ नक्कली स्ट्याम्प, छाप, स्टिकर, ल्यापटप, मोबाइल, एटिएम कार्ड र नगदसमेत बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले केही दिनअघि प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बेलहियाको संयुक्त टोलीले विशेष निगरानीपछि कारबाही गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बरामद भएका प्रमाणपत्र मुख्यतः नेपालबाट अध्ययनको नाममा विदेश जान चाहनेलाई प्रयोग हुने गरी तयार पारिएका थिए ।

क्षेत्रीले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो कार्य सङ्गठित जालो अन्तर्गत भइरहेको देखिन्छ । पक्राउ परेका यादव यस कारोबारमा संलग्न स्थानका कर्मचारी हुन्, तर यसका मागकर्ता र अन्य संलग्नको खोजी अझै भइरहेको छ ।”

बरामद सामग्रीमा त्रिभुवन विश्वविद्यालयको एक सय वटा ट्रान्सक्रिप्ट, ३६ वटा प्रमाणपत्र, विभिन्न संस्थाका करिब १० हजार होलोग्राम, भारतको एमिटी, जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालयलगायतका प्रमाणपत्र र स्ट्याम्प रहेका छन् । 

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको यस्तो ठुलो जालो सीमामा पर्दाफास भएपछि नेपाल–भारतबिच लामो समयदेखि चल्दै आएको शैक्षिक दस्ताबेज दुरुपयोग र मानव संसाधन तस्करीको जटिल समस्या पुनः सतहमा आएको जनाएको छ । “प्रहरी उपरीक्षक क्षेत्रीले भन्नुभयो, “यो निकै ठुलो सफलता हो, अब गहिराइमा पुगेर थप अनुसन्धान अघि बढाउँछौँ ।” उहाँले यसको कारोबारमा संलग्न अन्य व्यक्तिको पनि नाम आएको जानकारी दिँदै यसको पनि छानबिन तथा अनुसन्धान भइरहेको बताउनुभयो