• ४ भदौ २०८२, बुधबार

मादल व्यवसाय सङ्कटमा

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), भदौ ४ गते । चाडपर्व नजिकिँदै गर्दा विगतमा व्यस्त हुने मादल बनाउने व्यवसाय अहिले सुनसान हुन थालेको छ । 

बागलुङ जिल्लाको गलकोटबाट गुल्मीको सदरमुकाम तम्घासमा मादल बनाउने पेसामा संलग्न गुल्मीका रामु नेपालीले पसलमा बनाएर राखेका मादल बिक्री नभएर थन्किएको बताउनुभयो । पछिल्लो समय आधुनिक डिजे सङ्गीत, मोबाइल स्पिकर तथा डिजिटल रेकर्डिङ प्रणालीको प्रयोग बढेसँगै मादलको प्रयोग न्यून हुँदै गएको उहाँको भनाइ छ ।

मादल बनाउनका लागि आवश्यक पर्ने कच्चा सामग्री नपाउँदा मादल बनाउन नै समस्या हुन थालेको गुनासो पनि नेपालीको छ  । मादल बनाउने सामग्री नेपालमा पाइँदैन, छिमेकी देशबाट सामग्री ल्याउँदा महँगो पर्छ, त्यसैले मादलको मूल्य वृद्धि भएको छ । मादल बनाउन, छाला र काठको समस्या हुने गरेको छ ।

कुनै समय वार्षिक तीन हजारसम्म मादल बेच्ने अर्का व्यवसायी डिलबहादुर अहिले वार्षिक ४०/५० वटा मादल बेच्न पनि धौ धौ  हुने गरेको बताउनुहुन्छ । एउटा मादल तयार गर्न दुई/तीन दिन लाग्ने डिलबहादुरको भनाइ छ । एउटा मादलको सामान्यतया दुई हजार पाँच सयदेखि सात हजार रुपियाँसम्म मूल्य पर्ने गर्दछ ।