• ४ भदौ २०८२, बुधबार

धानको न्वारन गर्ने परम्परा : हराउँदै गएको “हरेलो” को संस्कार

blog

वालिङ–१० का कृषक नन्दलाल सुबेदी परम्परागत शैलिमा हरेलो पर्व मनाउँदै मियालको हाँगो गाड्दै । तस्बिर : सौजन्य सुशिल सुबेदी

हरि प्रसाद सुवेदी, 
पुतलीबजार, भदौ ३ गते ।
नेपालका पहाडी भेगहरूमा मनाइने मौलिक कृषि पर्वमध्ये एक हो - “हरेलो”, जसलाई धानको न्वारन गर्ने परम्परा भनेर चिनिन्छ । परम्परागत कृषि संस्कृति, मौसमी परीक्षण, धार्मिक आस्था र समुदायको सामूहिकता झल्काउने यो पर्व स्याङ्जा जिल्लामा अझै केही हदसम्म जीवित रहेको पाइन्छ । यद्यपि, आधुनिक कृषि प्रविधिको आगमन र नयाँ पुस्ताको बदलिँदो सोचसँगै यो परम्परा हराउँदै गएको छ ।

हरेलो पर्व मुख्यतः भदौ महिनाको पहिलो मङ्गलबार मनाउने परम्परा छ । कतिपय ठाउँमा यो महिनाको अन्तिम मङ्गलबार पनि मनाइने गरिन्छ । तर स्याङ्जा र वरपरका क्षेत्रहरूमा भने यो पर्व प्रत्येक वर्षको भदौको पहिलो मङ्गलबार अनिवार्य रूपमा मनाउने चलन जीवित छ । यस दिन कृषकहरू विशेष विधि र तयारीका साथ खेतको डिलमा पूजा गर्छन् र धानको न्वारन अर्थात् औपचारिक रूपमा “धान’’ घोषणा गर्छन् ।

हरेलो पर्वको दिन बिहानै सबै परिवारका सदस्यहरू उठेर स्नान गर्छन् र चोखो वस्त्र धारण गर्छन् । पूजा गर्न प्रयोग गरिने सामग्रीहरू पनि परम्परागत रूपमा तयार पारिन्छ, जसमध्ये मियालको हाँगा, धूप, काठको धूलो, मुसाको विष्टा, धानको भुस, र विभिन्न प्रकारका बीउबिजन प्रयोग गरिन्छ ।

यी सामग्रीलाई एकै ठाउँमा मिसाएर एक विशेष पोको बनाइन्छ । त्यसमा ५, ७ वा ९ प्रकारका बीउबिजनहरू मिसाएर मकैको खोस्टामा राखिन्छ, अनि त्यसलाई बबियोको डोरीले बाँधिन्छ । अन्ततः यो पोको मियालको हाँगामा झुन्ड्याइन्छ र खेतको डिलमा विधिपूर्वक पूजा गरिन्छ ।

वालिङ ८ का अग्रज कृषक पूर्णचन्द्र कँडेल भन्नुहुन्छ, “असारमा रोपिएको धानलाई हामी ‘रोपो’ भन्छौं । हरेलो पर्वपछि मात्र त्यो धान बनिन्छ । बिना हरेलो गरिएको धान वा चामललाई हामी शुभ काममा प्रयोग गर्दैनौं ।” यो परम्परा उहाँहरूले आफ्ना जिजुबाजेबाट सिकेको र अहिलेसम्म पनि व्यवहारमा उतारिरहेका कँडेल बताउनुहुन्छ ।

हरेलो पर्व केवल धार्मिक परम्परा मात्र होइन, यसमा वैज्ञानिक पाटो पनि समावेश गरिएको पाइन्छ । परम्परागत रूपमा प्रयोग गरिने सामग्रीहरू-जस्तै मुसाको विष्टा, काठको धूलो र मकैको खोस्टा-प्राकृतिक कीटनाशकको रूपमा काम गर्छन् । बीउलाई यस्ता वातावरणमा राख्दा यदि राम्रोसँग उम्रिन्छ भने त्यो वर्षको मौसम अनुकूल रहेको र धान उत्पादन पनि राम्रो हुने विश्वास गरिन्छ ।

यसैले हरेलो पर्वलाई धेरैले “मौसम मापनको परम्परागत विधि” पनि भन्ने गर्छन् । “हामीले बनाएको पोकोमा बीउ उम्रिए भने थाहा हुन्छ कि मौसम राम्रो छ । अनि हामीलाई ढुक्क हुन्छ कि बाली राम्रो हुन्छ,” वालिङ १० विहारथोकका कृषक नन्दलाल सुवेदी बताउनुहुन्छ । 

बालीमा कीरा फट्याङ्गरा नलागोस् भनेर मियालको हाँगामा झुन्ड्याइएको पोकोलाई पनि सन्देशवाहक मानिन्छ । यो एक प्रकारको जैविक सङ्केतक हो, जसले बालीको अवस्थाबारे जानकारी दिन्छ । यस्ता अभ्यासहरू आजको युगमा पनि सदियौंदेखिको ज्ञान र परम्पराको जीवन्त प्रमाण को रुपमा पनि प्रयोग हुँदै आएको कृषि विज्ञहरुको बुझाइ छ ।

यद्यपि, स्याङ्जा लगायतका पहाडी क्षेत्रमा हरेलो पर्व अझै मनाइन्छ, तर आधुनिक जीवनशैली, प्राविधिक कृषि प्रणाली र नयाँ पुस्ताको चासोको अभावका कारण यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । गाउँमा बस्ने वृद्ध कृषकहरू यो परम्परालाई निरन्तरता दिन त खोज्छन्, तर सहरीकरण, वैदेशिक रोजगार र आधुनिक शिक्षा प्रणालीले नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्पराबाट टाढा लगेको देखिन्छ ।

कृषिविज्ञहरू पनि यो विषयमा चिन्तित छन् । उनीहरू भन्छन्, परम्परागत कृषि प्रणालीसँगै गाँसिएका यस्ता पर्वहरूले न केवल सांस्कृतिक मूल्य दिन्छन्, तर बाली संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनमा पनि सहयोग पुर्‍याउँछन् ।

हरेलो पर्व केवल एउटा सांस्कृतिक परम्परा होइन, यो हाम्रो पूर्वजहरूले दिएको कृषि विज्ञान, आस्था र प्रकृतिसँगको सामन्जस्यको अमूल्य धरोहर हो । यसको महत्व बुझ्ने हो भने हरेक कृषक, विद्यार्थी र नीति निर्माताले यसको संरक्षणमा हातेमालो गर्न आवश्यक छ ।

यदि हामीले यस्ता पर्वहरू बचाउन सकेनौं भने हामी केवल परम्पराहरू गुमाउने छैनौं, हाम्रो मौलिकता, कृषि ज्ञान र संस्कारको जरा नै उखेलिनेछ ।