काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर साधरणतया बदली रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ ।
जसको प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली प्रदेश र मधेश प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।