बैतडी समाचारदाता
बैतडी, भदौ ३ गते । बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग गरिएको छ । महाकाली लोकमार्गसँग जोडिएको खानी उत्खनन गर्दा सडकलाई असर गर्ने वा नगर्ने विषयमा सडक विभागसँग राय माग गरिएको हो । आइएमई समूहले दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको धर्मघरदेखि सुपलेको लेकसम्म १० वर्गकिलोमिटर क्षेत्रफलसम्म खोजतलासको लाइसेन्स प्राप्त गरेको छ । उत्खनन हुने खानी महाकाली लोकमार्गबाट पाँच सय मिटर टाढा रहेकाले सडकलाई खासै असर नपर्ने सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लीलाधर भट्टले बताउनुभयो । उद्योगमा २५ अर्ब रुपियाँ लगानी गर्ने योजना रहेको बताइएको छ ।
उहाँले भन्नुभयो, “सिमेन्ट उद्योग सञ्चालन हुँदा सडकलाई असर पर्ने वा नपर्ने विषयमा राय मागिएको छ । भौगोलिक रूपमा सडकबाट पाँच सय मिटरभन्दा टाढा नै देखिए पनि हवाई दुरी भने करिब पाँच सय मिटर जति देखिन्छ । यसका लागि हामीले सुर्खेतस्थित सुपरिन्टेन्डेन्ट इन्जिनियरको अनुमति मागेका छौँ ।”
सिमेन्ट उद्योग सञ्चालनको सबै तयारी पूरा भएर सडक विभागको स्थलगत निरीक्षणसतिको सहमति माग गरिएको आइएमई समूहका भूवैज्ञानिक प्रेम खड्काले बताउनुभयो । उहाँले पहिलो चरणमा ३५ वर्षसम्मका लागि पुग्ने गरेर ६८ हेक्टर क्षेत्रफलमा रहेको चुनढुङ्गा उत्खननको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
प्रस्तावित खानीमा अनुमानित चार करोड ६५ लाख टन चुनढुङ्गा रहेको भूवैज्ञानिक खड्काले बताउनुभयो । खानीबाट दैनिक चार हजार पाँच सय टन चुन ढुङ्गा उत्खननको प्रस्ताव राखिएको उहाँले जानकारी दिनुभयो ।
यहाँको ढुङ्गामा ५० प्रतिशत चुन (क्याल्सेसियम अक्साइड) र १.२ प्रतिशत म्याग्नेसियम अक्साइड भेटिएको छ । नेपालमा सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गामा तीन प्रतिशतभन्दा बढी म्याग्नेसियम अक्साइड राम्रो मानिँदैन । म्याग्नेसियम अक्साइडको मात्रा जति कम भयो, त्यति राम्रो हुने भूवैज्ञानिक खड्काले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सकारले २०७७ सालमा गरेको अध्ययन अनुसार बैतडीमा नेपालकै राम्रो चुनढुङ्गा रहेको निष्कर्ष निकालेको थियो । प्रदेश सरकारको अध्ययनपछि आइएमई समूहले नवलपरासीपूर्वको चोरमारामा १० अर्ब रुपियाँमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना स्थगन गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो ।
नेपाल–भारत सीमानाका झुलाघाटबाट ३५ किलोमिटर पूर्वमा रहेको खानीनजिकै उद्योग स्थापना गरेर नेपालको सिमेन्ट विदेश निर्यात गर्ने लक्ष्य राखिएको छ ।
फलामसमेत बैतडीमै
सिमेन्ट उद्योगलाई आवश्यक पर्ने फलामसमेत बैतडीमै भेटिएको छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने म्याग्नाइट आइरन बैतडीको सिगास गाउँपालिका–१, सुगरखालमा भेटिएपछि उद्योगी थप उत्साहित भएका छन् ।
फलाम खोजतलास गर्ने अनुमति पाएको नेपाल जिन्दु माइनिङले सुगरखालमा पत्ता लगाएको खानीमा ३८ प्रतिशत फलाम भेटिएको छ । फलाम उत्खनन गर्ने कम्पनी पनि सिमेन्ट उद्योग खुल्ने प्रतीक्षामा छ ।