• ४ भदौ २०८२, बुधबार

पिरो अकबरेको मिठो कमाइ

blog

सूूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राई आफूले फलाएको अकबरे खुर्सानी देखाउनुहुँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ ३ गते । हेर्दा चिटिक्क खपिनसक्नु पिरो तर आम्दानी भने २५ लाख रुपियाँ । पिरोमा पनि यो मिठो स्वाद हो इलामका सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले अकबरे खेतीबाट लिएको । उहाँले खर्चिएको परिश्रम र मेहनत अकबरे बगानमा गएर हेर्नेले जिब्रो काढ्छ ।

गत वर्ष अकबरेबाट गरेको २३ लाख रुपियाँको आम्दानीको स्पष्ट लिखित विवरण छ । “सात लाख रुपियाँको अकबरेको दाना बेचिएछ । करिब १६ लाख रुपियाँ चाहिँ बिउका लागि बियाँ बेच्दा आम्दानी भयो,” राईले भन्नुभयो, “अन्य खुद्रा र घरबाटै बिक्री भएको अकबरेको हिसाब राखिएन । त्यो पनि करिब दुई लाख रुपियाँ भयो होला । यसरी एक वर्षमा २५ लाख जति कमाइ भयो ।” 

राईले प्रतिकिलो ३५ हजारदेखि ५५ हजारका रुपियाँका दरले ४० किलो बियाँ बिक्री गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तर ३० किलो बिउको माग अझै पूरा गर्न सकिएन । अहिले पनि विदेश जाने नेपालीले बिउको माग गरिरहेका छन् । विदेशमा लगेर पनि यहाँको अकबरे रोप्ने र फलाउने गरेका छन् । यस वर्ष चाहिँ लगभग बिउ सकिएको छ ।”

राईका अनुसार अर्गानिक उत्पादनले गर्दा बिउको उमार शक्ति राम्रो छ भने दाना पनि राखेर खानलाई राम्रो टिक्ने भएकाले यहाँ माग धेरै आइरहेको छ । अकबरेको बिउ तयार गर्न त्यति सजिलो छैन । राम्रो बियाँ भएको सरदर ३५–३६ किलो दाना फलबाट एक किलो बियाँ तयार हुन्छ ।राईले यस वर्ष पनि अहिले अर्थात् साउन, भदौको सिजनमा नयाँ बिरुवा लगाउँदै हुनुहुन्छ । ठुलो बगानको पाक्न थालेको छ । टिपेर बजार पठाउन लागिएको छ । अहिले लगाएको अकबरे चाहिँ आउँदो चैत, वैशाखमा राम्रो मूल्यमा बिक्री हुन्छ । त्यसबेलालाई हेरेर अहिले बिरुवा रोपिँदै छ । 

राईले भन्नुभयो, “वैशाख नयाँ वर्षमा इलाम घुम्न आउनेले कोसेलीस्वरूप अकबरे लाने गरेकाले मूल्य राम्रो हुन्छ, गएको सिजनमा पनि चैत, वैशाखमा आठ सयदेखि एक हजार रुपियाँ प्रतिकिलो दाना बिक्री भएको थियो ।” अहिले भने राईले सातामा ८० देखि एक सय किलोसम्म दाना अकबरे बिक्री गर्ने गरेको बताउनुभयो । राई मात्र होइन, अर्का किसान मनिष लिम्बूको पनि अकबरे बगान र आम्दानी लोभलाग्दो छ । सन्दकपुर गाउँपालिका–२ स्थित सुलुबङमा चार वर्षयता टारी व्यवसाय कृषि फार्म दर्ता गरेर अकबरे खेती गर्दै आएका मनिष लिम्बूले गत वर्ष २० क्विन्टल अकबरेको दाना बेच्नुभयो । प्रतिक्विन्टल ३० हजार रुपियाँका दरले गत वर्ष अकबरे बिक्री भएको लिम्बूले जानकारी दिनुभयो । “यस वर्ष ४० रोपनी जमिनमा अकबरे लगाएको छु, कम्तीमा ६० क्विन्टल अकबरे उत्पादन हुन्छ भन्ने अनुमान छ ।” लिम्बूले भन्नुभयो, “अकबरेको बजार राम्रो छ । खुद्रा नै पनि वर्षभरि प्रतिकिलो चार सय रुपियाँभन्दा कम भएन । अहिले पनि प्रतिकिलो चार सय छ । यहाँ उत्पादन भएको अकबरे सबै भारत नै हो जाने ।”

स्थानीय बजारमा पनि माग राम्रो छ । स्थानीय सरस्वती उच्च माविमा बालीविज्ञान विषयका शिक्षकसमेत रहेका लिम्बूले विद्यालयबाट बचेको समयलाई अकबरे र आफ्नो फार्ममा खर्चनुहुन्छ । १० वर्षका लागि जग्गा लिजमा लिएर अकबरेको व्यावसायिक खेती गरिरहेका लिम्बू राईपछिका अर्का उदाहरण हुनुहुन्छ । 

सुलुबुङकै लीला गड्तौला पनि अकबरे उत्पादन गर्ने अर्का किसान हुनुहुन्छ । गत वर्ष साढे सात सय किलो अकबरे बिक्री गर्नुभएका गड्तौलालाई पनि बजारको समस्या छैन । गड्तौलाले त अझै उपभोक्ताका घर घर अकबरे पु¥याउनुहुन्छ । यस वर्ष एक हजार पाँच सय बोट मात्र अकबरे रोपेका गड्तौलाले किरा र दाना झर्ने र एक पाटो कुहिने रोग भने आएको बताउनुभयो । अकबरे खुर्सानीलाई विभिन्न रोगको औषधीका रूपमा पनि प्रयोग गर्ने गरिएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणालीमा सहयोग गर्ने अकबरेमा सामान्यतया भिटामिन सी, ए, ई र एन्टिअक्सिडेन्ट हुने सामुदायिक कृषि क्याम्पस इलामका प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ । 

समुद्री सतहबाट आठ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा गर्न खेती गर्न सकिने अकबरेको जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माईमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको अकबरे इलाम भित्रिने आन्तरिक पर्यटकले कोसेलीका रूपमा पनि लाने गरेका छन् ।

जिल्लाको १८० हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामका तथ्याङ्कमा उल्लेख छ । गएको वर्ष इलाममा १० हजार ८० मेट्रिक टन अकबरे उत्पादन भएकामा यस वर्ष उत्पादन अलि बढ्ने आकलन गरिएको केन्द्रका सूचना अधिकारी जीवन ठाडामगरले बताउनुुभयो ।