सिराज खान
नेपालगन्ज, भदौ २ गते । बाँकेको नौबस्तामा कर्तव्य ज्यानको घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय तोकिएका एक फरार प्रतिवादी २१ वर्षपछि आइतबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६१ साल असार ३ गते राति १० बजे बाँकेको साबिक नौबस्ता गाविस-४ बस्ने गणेश वादीको हत्या गरेर फरार रहेको सोही ठाउँ वडा नम्बर ६ बस्ने आशाराम थारूलाई प्रहरीले २१ वर्षपछि आइतबार पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले वादीको हत्यामा संलग्न रहेका थारूलाई जिल्ला अदालत बाँकेले २०६८ साल वैशाख २१ गते हत्यामा दोषी रहेको ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको बताउनुभयो ।
उहाँले सर्वस्वसहित जन्म कैदको सजाय सुनाइएका थारू फरार रहेकोले आइतबार उनलाई घट्नाको २१ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको जनाउँदै आइतबारनै अदालतमा बुझाइएको बताउनुभयो ।
गत केही वर्षयता आएर जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अपराधी पक्राउ गर्ने कुरामा ठुलो सफलता हात पार्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८१–०८२ को एक वर्षमा मात्र प्रहरीले ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीहरूलाई अदालतले सजाय तोके पनि उनिहरू फरार नै रहेकोले प्रहरीले उनिहरूलाई खोजेर अदालतमा बुझाउँदै आएको छ ।