शिवशङ्कर मिश्रा
बारा (कलैया), भदौ २ गते । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
साउन २८ गते भएको शिक्षकमाथिको कुटपिट घटनासँग वडाध्यक्ष कुशवाहा सम्बन्धित रहेकाले उहाँलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार वडा कार्यालयमै झैँ झगडा र मदिरा सेवनपछि भएको कुटपिट घटनामा अध्यक्ष कुशवाहा करिब आठ जनाको समूहसहित संलग्न रहेको थियो । पीडित शिक्षक नागेश्वरकुमार यादवमाथि कुटपिट भएको घटनाको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले जानकारी दिनुभयो । घटनापछि कुशवाहा फरार रहेका थिए ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको सम्पूर्ण पृष्ठभूमि खोतल्ने काम जारी छ । कुनै पनि दोषी उम्कन पाउने छैन, एसपी तामाङले भन्नुभयो ।
यो घटनासँगै अध्यक्ष कुशवाहाको आपराधिक गतिविधिमा संलग्नता पुनः चर्चामा आएको छ। यसअघि पनि उनीमाथि कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन वटा छुट्टाछुट्टै मुद्दामा बारा जिल्ला अदालतले सजाय सुनाइसकेको छ । अदालतले चेक अनादर मुद्दामा ३ हजार, कुटपिटमा २ हजार र आपराधिक लाभमा १ हजार जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो ।
तर, फैसला कार्यान्वयन अघि नै उनी फरार भएका थिए। लामो समयदेखि कानुनी कार्यवाहीबाट भागिरहेका कुशवाहा जेठ ११ गते एक पटक पक्राउ परेका थिए, तर त्यसपछि पुन: सक्रिय भएका हुन् ।
स्थानीय बासिन्दाहरूले जनप्रतिनिधि नै कानुनको उल्लंघनमा संलग्न हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर अगाडि बढाएको छ भने स्थानीय तहमा जनप्रतिनिधिहरूको आचरण र जिम्मेबारीप्रति पनि पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको छ।