• २ भदौ २०८२, सोमबार

७० गाडीको प्रदूषण जाँच्दा ४० वटा मापदण्ड विपरीत

blog

पोखराको न्युरोडमा सार्वजनिक सवारीको प्रदूषण जाँच गरिँदै । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २ गते । पोखरामा चल्ने सार्वजनिक सवारी साधनले धुँवाको मुस्लो फाल्ने गरेको गुनासो बढेपछि सोमबार प्रदूषण जाँच गरिएको छ । 

यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ७० वटा सार्वजनिक बसको प्रदूषण जाँच गरेकोमा ४० वटा बस मापदण्डविपरीत भेटिएका छन् । 

डिजेलबाट चल्ने ७० गाडीको प्रदूषण जाँच गर्दा ४० वटाले मापदण्ड पूरा गर्न असफल भएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिनुभयो । 

गाडीको प्रदूषण ‘ओपासिटी’मा नापिन्छ । ओपासिटी १०० मा नेपालमा ६५ प्रतिशतसम्म आउँदा वातावरण अनुकूल मान्ने गरिएको छ । 

हरेक छ महिनामा सवारी चाँचपास गर्दा प्रदूषण चेकजाँच अनिवार्य गर्नुपर्ने अवस्था भए पनि यातायात व्यवस्था कार्यालय कास्कीमा ठाउँको अभावका चेकजाँच गर्न समस्या हुने गरेको छ ।

मापदण्डभन्दा बढी प्रदूषण देखिएका सवारी साधनलाई मर्मतसंहार गरी चलाउन निर्देशन दिइएको छ । मर्मतपछि फेरि जाँच गरी मापदण्ड अनुरुप पाइएमात्र नियमित सञ्चालन गर्न दिइने कार्यालय प्रमुख शर्माले बताउनुभयो । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमेत प्रदूषण चेकजाँच निरीक्षण गर्न पुग्नुभएको थियो । मन्त्री केसीले सर्वसाधारणको गुनासो आएको भन्दै चेकजाँच निरन्तर हुने बताउनुभयो ।