• २ भदौ २०८२, सोमबार

घोराही गुलरियाका युवा आफैं बनाउन थाले बाटो

blog

घोराही १७ स्थित गुलरिया गाउँको बाटो मर्मतसम्भार गर्दै स्थानीय युवाहरु । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, भदौ २ गते ।
लगातारको वर्षाका कारण आवतजावतमा समस्या बढेपछि दाङको घोराही उपमहानगरपालिका–१७ गुलरिया गाउँका युवाहरु आफैं बाटो बनाउन जुटेका छन् ।

वर्षायाममा सडक हिलो र खाल्डाखुल्डीले भरिँदा गाउँलेलाई दैनिक आवतजावत गर्न कठिनाई भएपछि युवाहरुले आफ्नै पहलमा बाटो मर्मत कार्य सुरु गरेका हुन् । स्थानीय अशोक चौधरी, कंगरू चौधरी, राजेश चौधरीलगायत युवाहरुको सक्रियतामा गाउँकै युवा एकजुट भएर बाटो निर्माणमा लागेका छन् ।

“वडाले बल्लतल्ल एक ट्रयाक्टर छर्री मात्र सहयोग गर्‍यो, तर बाटो सुधारका लागि अझै ५ टिप्पर ग्राभेल आवश्यक छ,” स्थानीय युवा अशोक चौधरीले भन्नुभयो, ‘‘स्थानीय सरकारलाई पटक–पटक जानकारी गराए पनि वास्ता नगरेपछि युवाहरु आफैंले बाटो बनाउनुपर्ने अवस्था आएको हो ।’’

घोराही उपमहानगरपालिका कार्यालयदेखि करिब एक किलोमिटर दक्षिणमा रहेको गुलरिया गाउँ, लगायत वरिपरिको टोलको बाटो बनाउनमा स्थानीय सरकार उदासीन रहेको स्थानियहरु बताउछन् ।

स्थानीय सरकारको उदासीनताप्रति निराशा व्यक्त गर्दै गाउँलेले अब गाउँको विकास आफैंले गर्ने अभियान थालिएको चौधरीले बताउनुभयो । ती युवाहरुका अनुसार युवाहरुको सामूहिक पहलले समस्या केही हदसम्म समाधान भए पनि दीर्घकालीन समाधानका लागि स्थानीय सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन् ।