कुस्मा समाचारदाता
कुस्मा (पर्वत), भदौ २ गते । जिल्लाको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिकामा रहेको एक गाउँबाट स्थानीयवासीले बसाइँसराइ गरेपछि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या शून्य भएको छ । पर्वतको बिहादी गाउँपालिका–४ मा पर्ने तलातुमगाउँ बसाइँसराइले रित्तिन पुगेपछि सोही गाउँमा रहेको सगरमाथा माविमा पढ्ने विद्यार्थी नै नभएका हुन् ।
विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको बारे वडाध्यक्ष विष्णु भुसाल भन्नुहुन्छ, “गाउँमा पहिले मान्छे बाक्लै बस्थे । तलातुमगाउँमा मात्रै ८० घरधुरी रहेकोमा अहिले १२ घरपरिवार मात्र बसोबास गर्छन् । बाँकी सबै बसाइँसराइ गरी अन्यत्र गइसकेका छन् । गाउँमा बस्ने घर रित्ता भएसँगै विद्यालयमा विद्यार्थीसमेत घटेर शून्य भएको हो ।”
अहिले विद्यार्थी सङ्ख्या शून्य भएको सगरमाथा मावि राम्रोसँग चलेको र गाउँकै पुरानामध्येको विद्यालय भएको पालिकाका शिक्षा अधिकृत भीम नेपाली बताउनुहुन्छ । पक्की भौतिक संरचनामा रहेको यो मावि २०२९ सालमा प्रावि तहका रूपमा स्थापना गरिएको थियो ।
शिक्षा अधिकृत नेपालीका अनुसार विद्यालयमा विद्यार्थी घटेपछि कार्यरत केही शिक्षकलाई अन्यत्र सरुवा गरिएको भए पनि तीन जना शिक्षकको सरुवा मिलान अझै बाँकी छ । अहिले पनि प्रअसहित तीन जना शिक्षक विद्यार्थी नै नभएको विद्यालयमा हाजिर गरी बसेको अवस्था छ ।
बिहादी गाउँपालिकामा यसअघि जनसेवा प्रावि र बालज्योति प्रावि गरी दुई वटा विद्यालय विद्यार्थीविहीन भइसकेका छन् । शून्य विद्यार्थी भएका विद्यालयलाई एकीकृत प्रक्रियामा लैजाने जनाएको पालिकाको शिक्षा शाखाले प्रभावकारी रूपमा काम भने गर्न सकेको छैन ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मतीलाल चापागाईंका अनुसार जिल्लामा यसअघि सातै वटा स्थानीय तहमा गरी ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेकोमा अब सगरमाथा मावि थपिँदा शून्य विद्यार्थी हुने विद्यालयको सङ्ख्या ३२ पुगेको छ ।
शून्य विद्यार्थी सङ्ख्या हुने माविको सङ्ख्या फलेवास नगरपालिकाको ध्रुव नमुना मावि र बिहादी गाउँपालिकाको सगरमाथा मावि गरी दुई वटा भएका छन् भने बाँकी अधिकांश प्रावि तहका विद्यालय छन् ।