सुजन बज्राचार्य
सङ्खुवासभा, भदौ २ गते । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सीमामा रहेका स्तम्भहरूको निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको टोलीले संयुक्त रुपमा स्तम्भहरुको निरीक्षण गरेको हो ।
सशस्त्र प्रहरी बल ४ नम्बर अरुण गुल्म चैनपुरअन्तर्गत पर्ने किमाथांका बिओपीका इन्चार्ज नविन खतिवडाको नेतृत्वमा सात जना सशस्त्र प्रहरी, चार जना नेपाल प्रहरी र चीनतर्फबाट आठ जना प्रहरी सहभागी थिए। टोलीले भोटखोला गाउँपालिका–१ किमाथांका क्षेत्रमा रहेका ६६, ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरका जङ्गे पिल्लरहरूको निरीक्षण र अवस्थाबारे जानकारी लिनुका साथै वरपरको सरसफाइसमेत गरेको थियो ।
अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार नेपाल–चीन सीमाअन्तर्गत सङ्खुवासभामा हाल २१ वटा स्तम्भ छन् । गत जेठमा भोटखोला गाउँपालिका–१ स्थित दोङ्गोप्पा र छोकाङ खोलामा आएको बाढीले ७१÷१ नम्बरको स्तम्भ बगाएको थियो ।
भोटखोला गाउँपालिकाको १, २ र ३ नम्बर वडाको भूभाग चीनसँग प्रत्यक्ष जोडिएको छ । करिब पाँच हजार मानिसको बसोबास रहेको यस क्षेत्रमा २०७६ सालमा किमाथाङ्का बिओपी स्थापना गरिएको थियो ।