देवराम यादव
सप्तरी, भदौ २ गते । सप्तरीको महादेवा गाउँपालिका– १ सोनरामा सडक निर्माण नहुँदा स्थानीयले वर्षातको समयमा सास्ती बेहोर्नु परेको छ । वषौँदेखि सडक निर्माण गर्न माग गर्दै आइरहेका मण्डल टोल, यादव टोल र लवटोलिया टोलका स्थानीहरूलाई गाउँपालिका र वडाले सडक निर्माण नगरिदिएपछि स्थानीयले सास्ती बेहोर्नु परेको हो । वर्षातको समयमा मानिसहरू आफ्नो गाउँपालिका र राजविराज बजार पुग्न समेत जोखिम पूर्ण यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बर्सातको समयमा त्यस सडकमा पानीको समेत निकास बन्द हुने गरेको छ । चारैतिर खेत र टोल रहेका कारण सडकमानै सवै पानी जम्मा हुने गरेको छ । उक्त सडक भएर पकरी मा.वि., सोनरा राप्रावि र शंकर उच्चमावि तोपामा अध्ययन गर्न जाने बालाबालिकाहरुलाई विद्यालय आउन जान समस्या भएको छ ।
सडकमा आवत जावत गर्न नै समस्या छ, पटक पटक सडक निर्माणका लागि माग गरेको भए पनि सडक निर्माण नभएको महादेवा गाउँपालिका– १ का निरज यादवले बताउनुभयो ।
विद्यलायमा अध्ययन गर्न जाने बालबालिकालाई घर फर्कन समेत समस्या हुने गरेको छ । पटक–पटक स्थानीयले वडा कार्यालयमा पुगेर सडक निर्माण गर्न माग गरेको भए पनि वडा कार्यालयले सडक निर्माण नगरेको गुनासो मण्डल टोलका स्थानीय उपेन्द्रप्रसाद मण्डलले गर्नुभयो ।
उता सडक निर्माण नभएपछि स्थानीयले जोखिपूर्ण यात्रा गर्न बाध्य छन् । सडक निर्माण गर्न पटक–पटक कोशिस गरेको भए पनि स्थानीयहरूको विवादका कारण सडक निर्माण हुन नसकेको महादेवा गाउँपालिका– १ का वडाध्यक्ष जयश्वर किशोर दासले बताउनुभयो ।
उक्त सडक भएर सोनरका स्थानीयहरू गाउँपालिका कार्यालय, राजविराज बजार, चुरे जङ्गल र दाह संस्कारका लागि खाँडौ नदी समेत जाने गर्नुहुन्छ । अहिले पनि उत्त सडकको प्रयोग गर्ने दुई सय घर धुरी मण्डल टोल, यादव टोल र लवटोलिया टोलमा बसोबास गर्दे आउनुभएको छ ।