• १ भदौ २०८२, आइतबार

अमेरिकामा हिन्दु चाडपर्व नेपाली पात्रोकै आधारमा मनाइने

blog

ड्यालस (अमेरिका), भदौ १ गते । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय लिएको छ । 

हिन्दु चाडपर्व मान्ने दिनका सम्बन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको नतिजा शनिबार सम्पन्न टाउनहल बैठकमा सार्वजनिक गरियो । 

सर्वेक्षण, यसअघिका चाडपर्वहरुमा देखिएको बहुसङ्ख्यकको उपस्थितिलाई आधार मानेर यस्तो निर्णय भएको बताइएको छ । 

केन्द्र अन्तर्गत अहिले टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध बिहार छन् । 

अमेरिकाका निम्ति भनेर निकालिएका तिथिमा पर्व मनाउने गरी विगत ६ वर्षदेखि मन्दिर तथा बिहारले स्थानीय अलग्गै क्यालेण्डर सार्वजनिक गर्दै आएको थियो । तर ठूलो सङ्ख्यामा भक्तजन तथा हिन्दु धर्ममा आस्था राख्नेहरुले नेपाली पात्रो अनुसारकै दिनमा मान्न चाहना देखाउनुका साथै त्यसै अनुसार सहभागिता देखिएपछि यो निर्णयमा पुगेको  जनाइएको छ ।

हिन्दु मन्दिरका प्रवक्ता सुमन कार्कीले अबदेखि नेपाली क्यालेण्डरलाई नै अनुसरण गरेर हिन्दु चाडपर्व मनाउने निर्णयमा हामी पुगेका छौँ भन्नुभयो । 

सन् २०१९ को बडादशैंदेखि अमेरिकाको लागि भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले धेरै चाडपर्व अघिल्लै दिन प्रकाशित गर्दै आएको छ । जसले गर्दा जनमानसमा द्विविधा हुनुका साथै मन खुकुलो मनाएर चाड मनाउन नपाएको व्यापक गुनासो आइरहेको थियो । 

नेपाली पात्रो र अमेरिकी क्यालेण्डर अनुसार दुई दिन पर्व राखिन्छ । यसले गर्दा अफिस छुट्टी लिनुपर्ने, स्कुल छुट्टी लिनुपर्ने बालबालिकाले कहिलेलाई भनेर लिने ? यसलाई तुरुन्त समाधान गरेर विगतमा जे थियो, त्यसैमा जानु हाम्रो कल्याण हुन्छ टाउनहल बैठकमा युलेस सिटीका मेयर प्रोटेम टीका पौडेलले निकै गम्भीर रुपमा धारणा राख्नुभएको थियो । 

गत हप्ता लिइएको पर्व कहिले मनाउने भन्ने सर्वेक्षणमा ६५ प्रतिशतले नेपाली पात्रो अनुसार गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै २२ प्रतिशतले अमेरिकाको स्थानीय समय र तिथि अनुसार मनाउनुपर्ने र झण्डै १३ प्रतिशतले दुबै दिन मनाउँदा पनि हुने भनेर सुझाव दिएका थिए । 

अघिल्लो हप्ता शुक्रबार र शनिबार जनैपूर्णिमा मनाउने कार्यक्रम मन्दिरले राखेको थियो । शुक्रबार दुईसय जना पनि सहभागी भएनन्, जब कि शनिबार पाँच हजारभन्दा बढी व्यक्ति मन्दिरको कार्यक्रममा सहभागी भएका थिए । 


त्यस्तै हिजो शुक्रबार राखिएको कृष्णअष्टमीमा मन्दिरमा तीन दर्जन भक्तजनको पनि सहभागिता भएन । शनिबार राखिएको कृष्णजन्माष्टमीमा भव्य रथयात्रासहितको कार्यक्रम सम्पन्न भयो । श्रीकृष्ण प्रणामी समुदायले पनि हर्स्टस्थित प्रणामी मन्दिरमा शनिबार नै जन्माष्टमी मनाएको छ । 

शनिबार केन्द्रकी अध्यक्ष सीता सापकोटा बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कोही भक्तजनलाई अमेरिकाको तिथि अनुसार पर्व मनाउन मन लागेमा मन्दिरले सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्दिरले आधिकारिक रुपमा जनैपूर्णिमा, जन्माष्टमी, तीज, दशैंको घटस्थापना, टीका, तिहारका लक्ष्मीपूजा, भाइटीका, शिवरात्रिजस्ता तिथिका आधारमा मनाइने पर्वमा अब नेपाली क्यालेण्डरलाई आधार लिइनेछ ।