• २ भदौ २०८२, सोमबार

मनहरपुर–सिमरारी सडकको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

blog

जनकपुरधाम उपमहानगरपालिका –१७ ज्ञानचोक मनहरपुरमा सडक शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त लगानीमा निर्माण हुन लागेको धनुषाको सहिद मार्गअन्तर्गतको मनहरपुर–खरिहानी–सिमरारीको १६ किलोमिटर सडककोे शुक्रबार एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिका –१७ ज्ञानचोक मनहरपुरमा आज आयोजना गरिएको एक कार्यक्रममा उक्त सडकको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको चौडाई ग्रामीण बस्ती एरियामा ८ मिटर र बस्ती बाहिर १२ मिटर रहने प्रादेशिक आयोजना व्यवस्थापन इकाइका ईन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिनुभयो । 

उक्त सडकलाई आरसिसी र डिविएसटी गरी दुई किसिमले निर्माण गरिने योजना रहेको उहाँले बताउनुभयो । यदावले बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको लागि ६५ करोड बजेट विनियोजन गरिए पनि ४५ करोड ४८ लाखमा आशिष ओएसआरसी जेभी ललितपुरले ठेक्का सम्झौता गरिसकेको बताउनुभयो । 


नागरिकको जीविकोपार्जनमा सुधार ल्याउने दृष्टिकोणले दुई वर्षमा निर्माण कार्य पूरा गर्ने लक्ष्यसाथ सडकको ठेक्का सम्झौता भएको ईन्जिनियर यादवले जानकारी दिनुभयो ।

 शिलान्यास कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीसहित मन्त्री, एमालेका नेता सञ्जिव झा, उमाशंकर अरगरिया, रामसिंह यादव सहितकाको उपस्थिति थियो । 

शिलान्यास गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीलाई स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले फूलमाला लगाएर स्वागत गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीलाई विभिन्न व्यक्तिहरुको तर्फबाट सम्मान गरिएको थियो ।