• २ भदौ २०८२, सोमबार

ऊर्जा मार्गचित्रको उत्साह

blog

नेपालमा जलविद्युत् उत्पादनको इतिहास गौरवमय छ तथापि समयको माग अनुसार विकासक्रम भने लक्ष्यपरक हुन सकेको छैन । विसं १९६८ जेठ ९ गते फर्पिङ जलविद्युत् केन्द्र सुरु हुँदा एसियामै बिरलै जलविद्युत् निस्कन्थ्यो । पाँच सय किलोवाटको यो आयोजना एसियाकै दोस्रो जलविद्युत् आयोजना थियो । त्यसको केही दशकअघि सन् १८९७ मा दार्जिलिङमा एसियाकै पहिलो जलविद्युत् आयोजना बन्यो । नेपालमा जलविद्युत् उत्पादनको साढे ११ दशकमा देशले केवल तीन हजार पाँच सय मेगावाट जलविद्युत् मात्र उत्पादन गर्न सकेको छ । डा. हरिमान श्रेष्ठले विद्यावारिधिको क्रममा विसं २०२० कै दशकमा नेपामा ८३ हजार मेगावाट जलविद्युत् क्षमता भएको आकलन बाहिर ल्याउनुभयो । त्यसले नेपाललाई ब्राजिलपछि विश्वकै दोस्रो जलसम्पदा धनी मुलुकका रूपमा पनि चिनायो । यताका दशकमा कतिपय अध्येताले नेपालमा ८३ हजार मेगावाटभन्दा अझ बढी जलविद्युत् उत्पादन गर्न सकिने जानकारी बाहिर ल्याएका छन् । सम्भावनाको विषय सपना जस्तो मात्र हो । सपनालाई वास्तविकतामा परिणामतः गर्न सक्दा नै जलविद्युत्बाट देशको आर्थिक तथा सामाजिक विकास गरी  समृद्धिको खुट्किला चढ्न सकिने छ । नेपाल विद्युत् प्राधिकरणले नेपालको विद्युत् विकासका क्षेत्रमा अनेक कठिनाइ पार गर्दै अगाडि बढिरहेको छ । स्थापनाको ४० औँ वार्षिकोत्सव मनाइरहँदा आगामी एक दशकमा नेपालले २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादनको मार्गचित्रलाई साकार पार्ने प्रतिबद्धता महत्वपूर्ण छ ।

ऊर्जा मार्गचित्र २०८१ ले एक दशकमा ऊर्जा अर्थतन्त्रलाई व्यापक बनाउने महत्वकाङ्क्षी लक्ष्य लिएको छ । यो एक दशकमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ । भारतसित आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बजार सुनिश्चितसमेत भएको छ । भारतीय प्रसारण लाइन हुँदै नेपालको विद्युत् बङ्गलादेश पनि निर्यात हुन थालेको छ । आगामी १० वर्षमा पाँच हजार मेगावाट जलविद्युत् बङ्गलादेश निर्यातको लक्ष्य छ । भारत र बङ्गलादेश अहिले पनि जैविक इन्धनमा आधारित ऊर्जामा निर्भर छन् । नेपालको स्वच्छ ऊर्जाको प्रयोगले भारत र बङ्गलादेशको ऊर्जामा मागलाई सहज बनाउने मात्र होइन, हरित अर्थतन्त्रमा पनि सहयोग पुग्न सक्ने छ । नेपालको विद्युत् उत्पादन क्षमता बर्सातमा तीन हजार पाँच सय मेगावाट पुगे पनि हिउँदमा आधा पनि छैन । नदी प्रवाहमा आधारित आयोजनाको बाहुल्य भएका कारण बर्सातमा बढी उत्पादन भए पनि हिउँदमा न्यून हुन जान्छ । हिउँदका दिनमा भारतबाट आयात गर्नुपर्ने बाध्यताबाट मुलुक मुक्त हुन सकेको छैन । बर्सातमा भने नेपालले निर्यात गर्न सफल हुँदै छ ।  गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेको थियो । कतिपय नयाँ आयोजना क्रमशः निर्माणको अन्तिम चरणमा जान थालेकोले चालु आवमा विद्युत् निर्यात दोब्बर हुन सक्ने नेपाल विद्युत् प्राधिकरणको आकलनले केही हदसम्म भए पनि खुसी दिएको छ ।

नेपालमा उत्पादित विद्युत्को उत्पादन झन्डै शतप्रतिशत नै जलविद्युत्मा आश्रित छ । सानो प्रतिशत मात्र सौर्य ऊजा उत्पादन हुन सकेको छ ।  सौर्य र वायु ऊर्जाको समेत विकास गरी ऊर्जा उत्पादनमा विविधीकरणतर्फ जानुपर्ने छ । काठमाडौँ विश्वविद्यालयको हरित हाइड्रोजन लक्ष्यले पनि केही आशा जगाएको छ । जलविद्युत् क्षेत्रमा अझै पनि नीतिगत, कानुनी, संस्थागत र संरचनागत अनेक समस्या देखिएका छन् । विद्युत् उत्पादनको ठुलो अंश अर्थात् ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादन भइरहेको अहिलेको वास्तविकता हो । २०४६ सालपछि नेपाली कांग्रेसको सरकारले ल्याएको उदार नीतिले जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको प्रयासले सार्थकता पाउँदा नै मुलुक उज्यालो नेपालतर्फ अग्रसर छ । यताका दिनमा निजी क्षेत्र अनेक समस्याले जलविद्युत् उत्पादनको क्षेत्रमा लगानी गर्न डराइरहेको देखिन्छ । अस्पष्ट नीति, वनको समस्या, पुँजी बजारमा साधारण र प्रवर्धक सेयरको अलमल, ‘टेक एन्ड पे’ जस्ता अनेक समस्या समाधान गर्न ढिला गर्नुहुन्न । सरकारले जलविद्युत् प्रवर्धनमा सरल नीति बनाउनु पर्छ । निजी क्षेत्रले उत्पादन गरेको जलविद्युत् आयोजना पनि निश्चित समयपछि राज्यकै हुने हो । बगेर गएको पानी समृद्धिको मूल आधार हुन सक्छ  । त्यसका निम्ति ऊर्जा विकास मार्गचित्र २०८१ को सफल कार्यान्वयनको विकल्प छैन । ऊर्जा मार्ग चित्र सफल बनाउन कानुनी र संरचनागत सुधार पहिलो सर्त हो । यसैबाटै मुलुक ऊर्जा अर्थतन्त्रको नयाँ युगमा प्रवेश गर्न सक्ने छ । त्यसैले पनि ऊर्जा मार्गचित्रलाई उत्साहका साथ कार्यान्वयन गरिनु वाञ्छनीय छ ।