जीवनकालमा बाटो बिराएकालाई सजाय दिन र गल्तीको महसुस गरी सच्चिन प्रोत्साहन गर्ने स्थान हो कारागार अर्थात् जेल । कारागारको कैद अवधिमा रहँदा विगतका जस्ता गलत परिवेशबाट संयमित रहँदै सभ्य र अनुशासित रूपमा सच्चिएर व्यवहार गर्न सक्ने सचेत नागरिक तयार गर्नुपर्ने हो । तथापि भवितव्य परेर, आक्रोशमा आएर, अन्जानमा वा योजनाबद्ध तवरले मानिसले गरेको अपराध स्वरूप निजलाई सजायको भागेदार बनाउँदै गर्दा झनै आक्रामक बनाउने वातावरणको सिर्जना हुनुले कारागार प्रशासनको छवि बिग्रँदै गएको देखिन्छ ।
विशेष अवसरमा अदालतबाट फैसला हुँदा तोकिएको कैद सजाय पूरै भुक्तान गर्न नपर्ने गरी आममाफी पाएका व्यक्ति हुन् या पटक पटक जेल जीवन बिताएर कैद सजाय भुक्तान गरेका नै किन नहुन् उनीहरूले दोहो¥याइ तेह¥याइ गरेका हर्कतबाट पनि पुष्टि हुन्छ कि काराबासले उनीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकिरहेको छैन । बालबिज्याइँमा परेका बालबालिकालाई सुधार गर्न राखिएका बालसुधार गृह र बालिगहरूलाई राखिने कारागारमा अचेल अनियन्त्रित झडपका घटनाहरू भइरहनुले पनि कारागार सुधार केन्द्रको रूपमा कैदीबन्दीको सारथी बन्न नसकिरहेको प्रस्ट हुन्छ ।
नेपालमा १८ हजारको हाराहारीमा क्षमता भएका ७५ वटा कारागारमा २८ हजारभन्दा बढीको सङ्ख्यामा कैदीबन्दी राखिँदा पनि सेवा सुविधामा अवरोध सिर्जना हुने देखिन्छ । कतिपय भौतिक पूर्वाधार जीर्णोद्धार हुँदै गइरहेका छन् । खचाखचको अवस्थामा कैदीबन्दी हुँदा शौच गर्न पनि पालो नआउने दर्दनाक अवस्था भोग्नु परेको छ । मौसम अनुकूलका संरचना नहुनुले पनि उनीहरूको दैनिकी निकै कष्टपूर्ण भइरहेको हुन्छ । पर्याप्त खानेपानी, सरसफाइ र स्वास्थ्य सेवाको न्यूनतम व्यवस्थापन हुन नसक्दा कतिपय स्थानमा महामारीजन्य रोगहरू फैलिरहने समस्याबाट गुज्रिनुपरेको हुन्छ ।
आचरण, अनुशासन र मनस्थितिमा सुधारभन्दा पनि दण्डलाई प्राथमिकता दिने पद्धतिको विकास हुनुले पनि कारागार जीवन व्यतीत गर्नेहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिएको छैन । कारागारमा मुढा बुन्ने तालिमबाहेक अरू सिर्जनात्मक काममा बन्दीलाई उपयोग गर्न सकिएको छैन । उनीहरूको आपराधिक मानसिकतामा परिवर्तन ल्याउन मनोसामाजिक परामर्शका कार्यक्रम, योगाभ्यास, ध्यान, प्रणायाम तथा सकारात्मक सोचका अभ्यास गराउने विषयमा ध्यान पुगेको छैन । पारिवारिक जीवनमा भएको व्यक्ति त खाली समय बस्नुपर्ने अवस्था भएमा बिग्रिने डर धेरै हुन्छ भने थुनिएर बसेको मानिसमा समयको उपयोग हुन नसक्दा त के हुन्छ होला ? गम्भिर भएर सोच्नु जरुरी छ ।
कारागारको मुख्य समस्याको रूपमा नाइके, भाइनाइके प्रणाली, राशनपानीको व्यवस्थापन पद्धति र तोकिएको कैद अवधिमा छुट हुने असमान व्यवस्था रहेका छन् । कारागारमै बस्दा कोही लाखौँ कमाएर निस्कनै नचाहने अवस्थामा हुने त, कोही सामान्य सिपसम्म सिक्न नपाउँदा कैद भुक्तानपश्चात् समाजमा फर्किएपछि जीवनयापन गर्न कठिन हुने अवस्थामा पुग्नेसम्मको अवस्था भोगिरहेका छन् । कारागार प्रशासनलाई नै विकृत बनाएका यी पद्धतिहरूमा जबसम्म सुधार ल्याउन सकिँदैन तबसम्म कारागार सुधारको परिकल्पनासम्म गर्न सकिँदैन ।
कारागार प्रशासनमा राज्यको हाबी हुनु पर्छ न कि कैद जीवन व्यतीत गरिरहेका व्यक्तिको । राज्य संयन्त्र निरीह बनेर आपराधिक गतिविधिमा संलग्न भएको कुनै व्यक्तिले उस्तै प्रकृतिको अर्को कैदीमाथि राजनीति गर्ने अधिकार कसरी प्राप्त गर्छ ? जेलभित्रै सुविधा दिने बहानामा कैदीको राशनमाथि खेलबाड गर्ने छुट प्रदान किन गरिन्छ ? बन्दीहरू समूहमा विभाजित भई आक्रामक बन्दै गइरहँदा सुधारका पहलहरू किन गर्न सकिएन ? मोबाइल, मदिरा वा लागुपदार्थ जस्ता निषेधित वस्तु कैदीसम्म कसरी पुग्छन् ? यी र यस्तै प्रश्नहरू तेर्सिएका छन् अहिले ।
कैदीबन्दीमा गरिने भेदभावपूर्ण व्यवहार निकै पेचिलो बन्दै गइरहेको छ । विशिष्ट व्यक्ति कैदीको रूपमा जेल चलान हुँदा उनीहरूको लागि खाना र बसोबासका लागि सुविधाजनक व्यवस्था मिलाइन्छ । मोबाइल, पत्रपत्रिकालगायतको पहुँच उपलब्ध गराइन्छ । कैद अवधि छोट्याउँदै आममाफीसमेत प्रदान गरिन्छ भने पहुँचविहीन कैदीहरू कष्टपूर्ण जेल जीवन बिताइरहेका हुन्छन् । पर्याप्त शौचालय, खानेपानी, स्वास्थ्य सेवा तथा पौष्टिक आहारको कमी एकातिर छ भने अर्कोतर्फ पहुँचवालाको दबदबा र दादागिरीले कारागारको जीवन अस्तव्यस्त बनाएको छ ।
भनिन्छ, सुधारको विकल्प सुधार नै हो । बेलाबखत भइरहने बालसुधार गृह र कारागारका घटनाहरूबाट पाठ सिक्दै सुधारका पहलकदमी अगाडि बढाउनु पर्छ । भारत, बेलायत, फिलिपिन्स, जर्मनीलगायतका मुलुकले खुला कारागारको अभ्यास गरिरहेका छन् । रोजगारी, शिक्षा, सिप तथा अवसरको माध्यमबाट कैदीमा मनोवैज्ञानिक सुधार ल्याई पारिवारिक पुनस्र्थापना गर्नका लागि यो अवधारणा उपयुक्त मानिन्छ । खुला कारागारमा कैदीलाई कम नियन्त्रण र निगरानी गरिन्छ भने आत्मनिर्भरता र पुनर्संरचनामा जोड दिइन्छ । यसले उनीहरूको मनोविज्ञानमा प्रभाव पार्ने र पुनर्आगमनलाई रोक्न मद्दत गर्छ । कैदी बन्दीले केही समय जेल जीवन बिताएपश्चात् उसको आनीबानीमा भएको सुधारको आधारमा खुला कारागारमा राख्न सकिने व्यवस्था मिलाउँदा उनीहरूमा सकारात्मक प्रभाव पर्छ ।
कैदीबन्दीको खाली समयको व्यवस्थापनमा जोड दिएर अहिलेको अस्तव्यस्तता हटाइ व्यस्तमस्त रहने परिपाटीको सिर्जना गर्नैपर्ने देखिन्छ । पर्याप्त सिपमूलक तालिम, सिपको उपयोग र वस्तुको बजारीकरणमा कारागार प्रशासनले जोड्न सक्नु पर्छ । कारागारमा रहेका बन्दीहरूलाई लघु उद्यमसँग जोड्न सकेमा मात्र पनि अहिले भइरहेका बेथितिलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । जेल जीवनमा मात्र होइन कैद भुक्तानपश्चात् पारिवारिक पुनस्र्थापना हुँदासमेत यसले समायोजनमा धेरै सहयोग पु¥याउँछ । फेरी गलत बाटोमा लाग्नबाट बचाउँछ, समयको उपयोगतर्फ डो¥याउँछ, आम्दानीको अवसर दिलाउँछ र पारिवारिक एवं सामाजिक जीवनलाई मर्यादित बनाउन टेवा पु¥याउँछ ।
काराबासको समयमा मनोपरामर्श साथै सकारात्मक सोच पैदा गर्न समय समयमा प्रवचन, ध्यान, योगाभ्यास सञ्चालन गर्नु पर्छ । उनीहरूले भूलवश या नियतवश गरेका गल्ती र अपराधको प्रायश्चित गर्न सक्ने वातावरण सिर्जना हुनु पर्छ । यसले व्यक्तिमा रहेको विषाक्तपनलाई हटाइ संयमित, सभ्य र अनुशासित बन्न सघाउनुका साथै दिनप्रतिदिन कारागारभित्र हुँदै आइरहेका हिंसाका घटनामा कमी ल्याउन मद्दत पुग्छ ।
कारागारलाई केवल बन्दीगृहको रूपमा सजाय दिने थलो मात्र नभई सुधार गर्ने स्थानको रूपमा विकास गर्दै लैजानु पर्छ । जेल जीवन बिताइरहेका व्यक्तिको मानव अधिकार संरक्षण गर्दै न्यूनतम आवश्यकता परिपूर्ति गर्ने पूर्वाधार विकासमा जोड दिनुपर्ने देखिन्छ । कारागारभित्रको आन्तरिक प्रशासनलाई चुस्त, पारदर्शी, मितव्ययी बनाउँदै कोही शक्तिशाली त कोही निरीह बन्नुपर्ने र हिंसात्मक अभ्यास भइरहने हालको कानुनी व्यवस्थाको तत्काल अन्त्य गरिनु पर्छ ।