• २ भदौ २०८२, सोमबार

ढोरपाटनको सुन्दरताले लगाउँछ मोहनी (फोटो फिचर)

blog

मनोरम ढोरपाटनको दृष्य । तस्बिर सौजन्यः रामनारायण सुवेदी

रामकृष्ण बोहरा

बागलुङ, साउन ३० गते । बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन ‘नाउर’ र ‘झारल’ को साहसिक शिकारका लागि विश्वव्यापी रुपमा प्रख्यात छ । 

क्षणभरमै बद्लिरहने यहाँको मौसम घुमन्तेहरुलाई अदभूत मोहनी लगाउँछ । ढोरपाटन फुलैफूलको शहर पनि हो । यहाँको उपत्यका र बुकी पाटनहरु रङ्गीबिरङ्गी फूलहरुले ढकमक्क ढाकिएको छ ।

बुकी पाटन क्षेत्रमा सबैभन्दा बढी पाइने बिजौरे फूल हो । पाटनको सिमसार क्षेत्रमा पाइने राँके फूल स्थानीयले साउने संक्रान्तिका दिन पूजामा अनिवार्य रूपमा प्रयोग गर्छन् । ढोरपाटनमा सयौं प्रजातिका फूलहरु फुल्छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा कति प्रजातिका फूलहरु छन् भनेर एकिन भइसकेको छैन । 


हालसम्म आरक्ष क्षेत्रमा पाइने १३ प्रजातिका फूलको तस्बिर र स्थानीय नाम संकलन भएको छ । बुकी पाटनमा दुधे फूल, बोक्सी फूल हो । चुम्री फूल, दहीठेकी फूल, मदानेफूल, काप्चुच्चेफूल, कप्टेरीफूल फुल्ने गर्दछ । यसबाहेक यहाँ विषमा फूल पनि फुल्छ । यो फूल मानिसको मुखबाट पेटसम्म पुग्यो भने विष लाग्ने डर हुने स्थानीयको भनाइ छ । 

स्थानीय अनेकथरि नामबाट फूलहरु चिन्ने गर्छन् । जस्तै– बटारे फूल, फट्याङ्ग्री फूल, घोप्टनेप्टे फूल, कलचौरेफूल, रानीफूल, हत्तासेफूल, चिमरेफूल, भित्तेफूल, भोक्रेफूल, भदौरेफूल । वर्षातमा फुल्ने यी फूल हिउँदमा हराउँछन् । 

१३२५ वर्ग किलोमिटरमा फैलिएको ढोरपाटन क्षेत्र समुन्द्री सतहबाट २८५० मिटरदेखि ५५०० मिटरको उचाइँमा छ । ढोरपाटनमा विशाल उपत्यकासँगै दर्जनौँ बुकी पाटन छन् । फागुने धुरी, जाल्पा ताल, गार्पा छेडा, फुर्से देउराली, टेकाधारा लगायतका क्षेत्रमा पुगेर प्राकृतिक सुन्दरताको आनन्द लिनेहरुको संख्या दिनप्रति दिन बढ्दो छ । 


उचाइँ चुम्ने पदयात्रीहरुले बुकी पाटनलाई स्वर्गको टुक्रा उपनाम दिन्छन् । ‘‘यहाँको परिदृश्य अद्भूत लाग्यो’’ दोलखाबाट ढोरपाटन पुग्नुभएका विजय तामाङले भन्नुभयो, ‘‘प्राकृतिक सुन्दरता गज्जब छ, शान्त र मनमोहक दृश्यले जोकोहीलाई मोहित तुल्याउँछ ।’’

ढोरपाटनका पठारहरुमा पुगेर पर्यटकले मन बहलाइरहेका मात्र छैनन्, पठारहरुले मानिस, पशुपालन र प्रकृतिबिचको सम्बन्धलाई बुझ्न सघाउ गरिरहेको छ ।  यस क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैली पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हरेक वर्ष भेडा चराउन फागुनेधुरी पुग्नु हुने रुकुम जिल्लाका काले पुन बुकी पाटन क्षेत्र भेडा, घोडा, भैँसी लगायतका वस्तुभाउ चरनका लागि उपयुक्त रहेको बताउनुहुन्छ । 

बुकी क्षेत्रमा पुगेर रमाउनेहरुको संख्या बढ्दो छ । तर यहाँ सञ्चार र पूर्वाधार अभाव छ । बुकी क्षेत्रको पैदलयात्राका लागि ‘ग्रीन आइडेन्टिटी फर टुमारो ढोरपाटन’ नामक संस्थाले काम गरिरहेको छ । ‘‘यहाँको प्राकृतिक सुन्दरता नबिग्रने गरि प्रबर्धन गर्न लागिपरेका छौं’’ संस्थाकी अध्यक्ष रमिता पुनले भन्नुभयो, ‘‘आरक्षका वन्यजन्तुको जीवनचक्रमा खलल पुग्ने कुनै पनि क्रियाकलाप कसैले गर्नु हुँदैन ।’’


ढोरपाटन बागलुङङको पश्चिम दिशामा पर्छ । ढोरपाटन उपत्यकासम्म यातायात पुगेको छ । बुर्तिवाङबाट–ढोरपाटन–सालझण्डी सडक भएर तीन घण्टामा ढोरपाटन पुग्न सकिन्छ । जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा एकसय ८५ थरीका दुर्लभ वनस्पति, उच्च पहाडी सिमसार क्षेत्रमा ३२ थरिका स्तनधारी वन्यजन्तु, एकसय ३० प्रजातिका चराचुरुङ्गी, नाउर, झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र धेरै संख्यामा पंक्षीहरूको बसोबास छ ।