• १३ साउन २०८१, आइतबार

सडक निर्माणको काम अलपत्र : बस्ती र विद्यालय पहिरोको जोखिममा

blog

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि अलपत्र बनेको सेलेघाट– रामेछाप– साँघुटार सडक ।

रामेछाप समाचारदाता

रामेछाप, असार १० गते । निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछाप जिल्लाको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माण कार्य अलपत्र बनेको छ । भारतीय एक्जिम बैङ्कको सहयोगमा करिब अठार महिनादेखि कालोपत्रेका लागि सडक विस्तार सुरु गरिएकोमा सडक निर्माणको काम बीचैमा छोडेर निर्माण व्यवसायी हिँडेपछि सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ । 

अलपत्र सडकका कारण यातायातका साधन सञ्चालनमा समस्या भएको छ भने ठाउँठाउँका बस्ती र विद्यालयसमेत जोखिममा परेका छन् । सडक चौडा गर्ने काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रामेछाप नगरपालिका–२, देउरालीस्थित खत्रीगाउँका ३० घरपरिवार जोखिममा परेका छन् । 

स्थानीय भरतबहादुर बुढाथोकीले बस्तीका ३० भन्दा बढी घर उच्चजोखिममा परेको भन्दै समयमा संरक्षण नभए जनधनको क्षति हुने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीको तल र माथिबाट पहिरो गइरहेको छ । 

मनलाग्दी रूपमा भत्काइएको सडकले घरमाथि र तलबाटै पहिरो जान सुरु भएकाले पानी परेको समयमा राति सुत्नसमेत डरमर्नु भएको अर्का स्थानीय ७० वर्षीय कृष्णकुमारी खत्रीले बताउनुभयो । ‘घरमाथिको सडकमा पानी जम्छ, जमेको पानी बाढी आएजस्तै गरी झर्छ । यस्तो अवस्थाको घरमा अब कसरी बस्नु, सरकारलाई जनताका समस्याबारे केही मतलब नै छैन,’ उहाँले भन्नुभयो । 

सडकको भित्ता काटेर अलपत्र अवस्थामा छाडिदिँदा रामेछाप नगरपालिका–२, देउरालीमा रहेको कालिकादेवी माध्यमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक ऋषि खड्काले बताउनुभयो । बीचमै काम छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन बन्दा पनि जिल्लाका जिम्मेवार निकाय बेखबर रहेका छन् । सडकमा काम गर्ने मजदुरलाई समेत ज्याला नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् । 

कुल एक अर्ब ९४ करोड ७१ लाख रुपियाँमा काम सम्पन्न गर्नेगरी भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेडले सडक विस्तारको जिम्मा लिएको थियो । 

सडक निर्माण कार्यलाई निरन्तरता दिन, मजदुरको ज्याला दिन, जोखिममा रहेको बस्ती तथा विद्यालयको जिम्मेवारी लिन भन्दै रामेछाप नगरपालिकाले निर्माण कम्पनी र सरोकारवाला निकायलाई पत्र काटिएको नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । 

‘सडकका कारण गाउँबस्ती र विद्यालय जोखिममा छन्, भोलि कुनै क्षति भएमा यसको पूर्ण जिम्मेवारी आयोजना आफैँले लिनुपर्ने र मजदुरलाई दिनुपर्ने ज्यालाबापतको रकम तत्काल प्रदान गर्न भन्दै नगरपालिकाबाट पत्र काटेका छौँ’, उहाँले भन्नुभयो ।