• १५ वैशाख २०८१, शनिबार

वैदेशिक अध्ययनका लागि जानेको सङ्ख्या बढ्दै

blog

काठमाडौं, असार ९ गते । पछिल्लो समय वैदेशिक अध्ययनका लागि जानेको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक अध्ययन अनुमति पत्र लिनेको सङ्ख्या बढ्दै गएको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) का प्रमुख हरि निरौलाले बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमण मत्थर भएसँगैै अध्ययनका लागि जानेको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ ।

अघिल्लो वर्षको वैशाख र जेठ महिनाको तुलनामा यो वर्ष पहिलो दुई महिनामा अध्ययन अनुमति पत्र (एनओसि) पत्र लिनेको सङ्ख्या १४ गुणा बढी देखिएको छ । अघिल्लो सालको वैशाख र जेठ महिनामा वैदेशिक अध्ययन अनुमति पत्र लिनेको सङ्ख्या दुई हजार १५२ रहेको थियो । यो वर्षका पहिलो दुई महिनामै यो सङ्ख्या बढेर ३० हजार ३८४ पुगेको छ ।

गत सालको वैशाख महिनामा एक हजार ६९६,जेष्ठमा ४५६, असारमा तीन हजार १०९, साउनमा पाँच हजार ३४१, भदौमा पाँच हजार ८६०, असोज चार हजार ९६३, कार्तिकमा तीन हजार ७५७, मङ्सिरमा पाँच हजार ६९५, पुसमा सात हजार ८५, माघमा नौ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैत्रमा १६ हजार ३४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

यो वर्षको वैशाख महिनामा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमति पत्र लिएको देखिएको छ । यसरी अध्ययन गर्न जाने देशहरुमा विशेषगरी अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा रहेको छ। हाल दैनिक औसतमा एक हजारले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमति पत्र लिने गरेको निरौलाले बताउनुभयो ।

‘कोरोना सङ्क्रमण कम भएसँगै वैदेशिक अध्ययनका लागि बाहिर जानेको सङ्ख्या बढ्दै गएको छ । हाल दैनिक औसतमा नाै सय जनाले एनओसी लिने गरेका छन् ,’ उहाँले भन्नुभयो ।

अध्ययनका लागि विदेश गएका अधिकांश व्यक्तिहरु अध्ययन सकेर नेपाल फर्कनुको साटो उतै पलायन हुने गरेका छन् । जसका कारण नेपालबाट विशेष ज्ञान, सीप, क्षमता भएका व्यक्तिहरु विदेशमै घरजम गरेर बस्ने प्रवृत्ति बढेको निरौलाको भनाइ छ । जसले नेपालको अर्थतन्त्रमा पनि असर पर्ने गरेको उहाँको दाबी छ ।

यस्तै पूर्वसचिव रामेश्वर खनालले धेरै व्यक्तिहरु अध्ययनको लागि बाहिर जाँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताउनुभयो । नेपालीले पैसा निक्षेप गरेर विदेश जानुपर्ने भएकाले विदेशी मुद्रा बाहिर गइरहेको छ । जसका कारण विदेशी मुद्रा सञ्चितिमा पनि असर परेको उहाँको भनाइ छ । त्यो रकमले नेपाललाई तत्कालका लागि फाइदा दिन नसक्ने उहाँले बताउनुभयो ।

‘पछिल्लो समय वैदेशिक अध्ययनका लागि देश छाडेर जानेको सङ्ख्या बढ्दै गएको देखिन्छ । यसबाट देशलाई तत्कालको लागि फाइदा पुग्ने देखिन्न,’ उहाँले भन्नुभयो ‘विदेशी मुद्रा बाहिर जाने भएका कारण मुद्रा सञ्चितिमा पनि असर पुग्ने देखिन्छ ।’

चीन, जापान जस्ता देशहरुको विकासमा त्यहाँका विद्यार्थीहरु बाहिरी देशमा पढाइ सकेर आफ्नो देशमा आएर नै काम गरेकाले विकास भएको उहाँले उल्लेख गर्नुभयो ।

तर, नेपाली भने विदेशमा पढेर उतै बस्न रुचाउने भएकाले यसले दीर्घकालीन असर पनि पार्न सक्ने खनालको भनाइ छ ।

नेपालमा राजनीतिज्ञको मात्र रजगज चल्छ भन्ने ती विद्यार्थीको मानसिकता हुने खनाल बताउनुहुन्छ । ‘विद्यार्थीको मानसिकता नै नेपालमा राजनीतिज्ञको रजगज चल्छ भन्ने छ, नेपालमा आएर कुनै काम गर्न खोज्दा यहाँ गर्न नदिने प्रवृत्ति छ,’ उहाँले भन्नुभयो ‘यही मानसिकता भएका कारण पनि विद्यार्थीहरु नेपाल फर्किन मन पराउँदैनन् ।’

फलस्वरुप नेपालले गरेको लगानी देशका लागि नै प्रयोगमा नआउने अवस्था सिर्जना भइरहेको उहाँको भनाइ छ । पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटाले पनि धरै विद्यार्थीहरु वैदेशिक अध्ययनका लागि विदेशिएका कारण यसले अर्थतन्त्रमा असर गरेको बताउनुभएको छ ।

‘धेरै विद्यार्थी वैदेशिक अध्ययनका लागि विदेशीले गरेका छन् यसले मुद्रा सञ्चितिमा पनि असर पारिरहेको छ, ’उहाँले भन्नुभयो ‘पढाइ सकेर नेपाल फर्कन नचाहने र उतै रोजगार गर्न चाहेका कारण यसले नेपालको अर्थतन्त्रमा नै असर गर्छ ।’

यसबाट मुद्रा सञ्चितिका साथै प्रतिभा पलायनको पनि जोखिम हुने उहाँको भनाइ छ । ‘कोही व्यक्ति सक्षम नभई विदेश अध्ययनका लागि जान खाेज्दैनन्, यसबाट विदेशी मुद्रा सञ्चितिमा असर परेको छ । यसबाट नेपालबाट प्रतिभा पलायनको सम्भावना रहेको देखिन्छ, ’बाँस्कोटाले भन्नुभयो ।

वैदेशिक रोगजारका लागि बाहिरी देशमा गएकाले कमाएर नेपाल पठाउने भएका कारणले विप्रेषणबाट देशको अर्थतन्त्रमा सहयाेग पुग्ने हुन्छ ।  अध्ययनमा गएका व्यक्तिहरुले पढाइ सकेर कमाउन लागेपछि उक्त लगानी विदेशमै गर्न खोज्ने भएकाले नेपालको अर्थतन्त्रमा यसले सहयोग नगर्ने उहाँको भनाइ छ ।

तर, नेपालीहरु विदेशमा अध्ययन सकेर नेपाल फर्केर केही गर्नसक्ने अवस्था रहे पनि त्यसो हुन नसकेको बाँस्कोटाको भनाइ छ । विदेशमा गएर अध्ययन सकेर उतै बस्नेहरु नेपालमा भएको पैतृक सम्पत्ति  बेचेर लैजाने गरेको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।