• २५ साउन २०८२, आइतबार

कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो

blog

उपमहानगरका प्रमुख प्रशान्त विष्टलाई ऐतिहासिक कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर बुझाइँदै । तस्बिर : सिराज खान । नेपालगन्ज

सिराज खान
नेपालगन्ज, साउन २५ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्ति तालको सौन्दर्य बचाउन चार सय जना स्थानीय नागरिकको हस्ताक्षर उपमहानगरका प्रमुख प्रशान्त विष्टलाई बुझाइएको छ ।

प्राकृतिक ताल र तलाउहरु मासिँदै गएको नेपालगन्जमा रहेको ऐतिहासिक कान्ति तालको समेत संरक्षण, रेखदेख र सरसफाईमा ध्यान नदिइएकाले सो तालको सौन्दर्य बचाउन दबाब दिने उद्देश्यले चार सय जना स्थानीयको हस्ताक्षर सङ्कलन गरेर प्रमुख विष्टलाई बुझाइएको ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले बताउनुभयो ।

उहाँले अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण यो अमूल्य प्राकृतिक सम्पदा सङ्कटमा परेकाले यसको संरक्षणसँगै सिमसार क्षेत्रको रुपमा विकास गर्न दबाब दिन हस्ताक्षर सङ्कलन गरिएको बताउनुभयो ।

कान्तितालको तत्काल संरक्षण गरिएन भने तालको जैविक तन्त्र पूर्णरूपमा नष्ट हुनुका साथै जलचर, स्थलचर र चराचुरुङ्गीहरूको वासस्थान हराउने, स्थानीय जलस्रोत सुक्ने र वातावरणीय असन्तुलनले जनस्वास्थ्य, कृषि र जनजीवनमा दीर्घकालीन असर पुर्‍याउने देखिएको छ ।

मेयर बिष्टलाई बुझाइएको सो हस्ताक्षरपत्रमा ताल वरपरका सबै किसिमका अतिक्रमणहरू अविलम्ब हटाउनेपर्ने, फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान लागू गर्नुपर्ने, स्थानीय समुदायको नेतृत्व र सहभागिता अनिवार्य गर्नुपर्ने र तालको २४ घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गरिनुपर्ने माग गरिएको ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जले जनाएको छ । 
सो तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान तत्काल जानुपर्ने माग गर्दै बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेले कान्ति तालको सौन्दर्य बढाउनसके पर्यटकका लागिसमेत प्रमुख गन्तव्य भएको बताउनुभयो ।

त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान रहेकोले यसले पर्यटकलाई ठुलो संख्यामा अकर्षित गर्न सक्ने उहाँले बताउनुभयो । 

करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको सो प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि सात मिटर कालोपत्र सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया पनि बनाइएको छ । तर, संरक्षणको अभावमा पर्खाल भत्काउने, इँटा चोरी गर्ने, फोहोर गर्न र मादक पदार्थ सेवन गर्ने अखाडा बन्न थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणलाई वडा कार्यालयले गम्भिरतापर्वक लिएको बताउनुभयो ।

नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थल समेत भएको चरा विज्ञहरुले जनाएका छन् ।