नेपालका आदिवासी नै मूलवासी समुदाय हुन् । उनीहरू हाम्रो सांस्कृतिक धरोहर र पहिचानका आधारस्तम्भ हुन् । उनीहरूको अधिकार, पहिचान, र विकास सुनिश्चित गरे मात्र राष्ट्र समृद्धिको यात्रामा अघि बढ्न सक्छ । यसका लागि समान अवसरसहित सम्मानयुक्त समाज निर्माण गर्नु पर्छ । नेपालीको जातीय विविधतामा नै एकता छ । यही हाम्रो शक्ति हो । आदिवासी समुदायले देशको सांस्कृतिक, ऐतिहासिक र सामाजिक विकासमा अतुलनीय योगदान गरेका छन् । तामाङ, नेवार, शेर्पा, राई, लिम्बू, मगर, थारूलगायतका समुदायले नेपाललाई विविधतायुक्त समाज बनाएका छन् । तिनका भाषा, धर्म, परम्परा र जीवनशैलीले नेपालको पहिचानलाई विशेष बनाएको छ । यी समुदाय आज पनि आफ्नो अधिकार, पहिचान र समृद्धिका लागि सङ्घर्षरत छन् । उनीहरूले आफ्नो परम्परा र संस्कृतिलाई संरक्षण गर्दै आधुनिक युगसँगको सन्तुलन खोजिरहेका छन् । नेपालको भूगोलसँग अभिन्न रूपमा गाँसिएका आदिवासी समुदाय हिमालदेखि तराईसम्म फैलिएका छन् । यी समुदायले प्राकृतिक स्रोत संरक्षण, मौलिक कला र संस्कृति विकास, र सामाजिक सहिष्णुताको उदाहरणीय भूमिका निर्वाह गरेका छन् । आदिवासी समुदाय हजारौँ वर्षदेखि नेपालका परम्परागत समाजका संरक्षक हुन् । यिनीहरूले कृषि, हस्तकला, व्यापार र पर्यटन जस्ता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका छन् । हिमाली क्षेत्रका शेर्पाले पर्वतारोहणलाई विश्वसामु चिनाए भने नेवार समुदायले काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा निर्माणमा योगदान दिएका छन् । अन्य समुदायभन्दा नेवार समुदाय आर्थिक रूपले पनि सम्पन्न छ । आदिवासी समुदायमध्ये कतिपयको आधुनिकताका कारण परम्परागत संस्कृति र भाषा लोप हुने खतरामा छन् । नेपालको समृद्धि र विकासमा मूलवासी समुदायको ठुलो भूमिका छ । यी समुदायका भाषा, कला र संस्कृतिलाई संरक्षण गर्न विशेष पहल आवश्यक छ ।
आदिवासी समुदाय राष्ट्रका अमूल्य सम्पत्ति हुन् । उनीहरूको पहिचान, अधिकार र विकासका लागि ठोस पहल र सहकार्य आवश्यक छ । विविधता, सहिष्णुता र समानताका आधारमा मात्र नेपालले दिगो समृद्धिको लक्ष्य हासिल गर्न सक्छ । देशको सांस्कृतिक आधारशिला उनीहरूको परम्परा, ज्ञान र सिपले नेपाललाई विश्वसामु चिनाएको छ । यी समुदायले सामना गरिरहेका सामाजिक, आर्थिक र राजनीतिक चुनौतीले उनीहरूको पहिचान र अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल जस्तो विविधतायुक्त राष्ट्रले समावेशी विकासको खाका नबनाएसम्म मूलवासी समुदायको उत्थान कठिन छ । आज भूमण्डलीकरणका कारण परम्परागत संस्कार र चालचलन लोप हुने खतरामा छन् । केही मूलवासी समुदाय आर्थिक रूपमा पछाडि परेका छन् । हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको आयस्रोत सीमित छ । आधुनिक जीवनशैलीले उनीहरूको परम्परागत सिपको माग घटिरहेको छ । नीति निर्माण तहमा मूलवासी समुदायको सङ्ख्यात्मक र गुणात्मक प्रतिनिधित्व पर्याप्त छैन । राज्यका नीति र योजनाले मूलवासी समुदायका वास्तविक समस्या सम्बोधन गर्नुपर्ने अवस्था छ ।
मूलवासी समुदायका भाषा, धर्म र परम्परालाई जोगाउन विशेष नीति बनाउनु पर्छ । उनीहरूलाई सिपमूलक तालिम, रोजगारीका अवसर र पर्यटन प्रवर्धनमार्फत सशक्त बनाउनुपर्ने खाँचो छ । राजनीतिक सशक्तीकरणका लागि मूलवासी समुदायका प्रतिनिधिलाई नीति निर्माण तहमा अग्रसर गराउनु आवश्यक छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच सुनिश्चित गर्न सके उनीहरूको उत्थान र विकासले गति लिन सक्ने छ । नेपालका मूलवासी समुदाय मात्र एक समुदाय होइनन्, यो राष्ट्रको सम्पूर्ण सांस्कृतिक, ऐतिहासिक, र प्राकृतिक सम्पदाको अभिन्न अंश हुन् । यी समुदायको सशक्तीकरणबिना नेपालको समृद्धि सम्भव छैन । समावेशी विकासका लागि राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नु पर्छ । आदिवासी समुदायलाई अगाडि बढाउनका लागि ठोस रणनीति र प्रतिबद्धता अपरिहार्य छ । नेपालमा मूलवासी समुदाय करिब ३५ प्रतिशत रहेका छन्, जसमा एक सयभन्दा बढी जातजाति छन् । यी समुदायको भाषा, कला, लोकसङ्गीत र जीवनशैली नेपालकै ऐतिहासिक र सांस्कृतिक धरोहरका रूपमा रहेका छन् । उनीहरूको भाषा, साहित्य, कला, सङ्गीत, र नृत्य मुलुकको सांस्कृतिक धरोहरको अभिन्न अंश बनेका छन् । तामाङ, नेवार, शेर्पा, गुरुङलगायतका समुदायका परम्परागत नृत्य र सङ्गीतले नेपाली लोक संस्कृतिको असाधारण समृद्धि दर्साएको छ । थारू समुदायका थारू मेला, नेवार समुदायका इन्द्रजात्रा, तामाङको ल्होसार जस्ता पर्व नेपालका सांस्कृतिक धरोहरका रूपमा सम्मानित छन् । अगस्त ९ मा पर्ने विश्व आदिवासी दिवस यस पटकको ३१ औँ दिवसका रूपमा मनाइएको छ । यो दिवसले आदिवासीको सन्तुलित विकास र उन्नतिका लागि सबै क्षेत्रको सहकार्यमा जोड दिएको छ ।