• २६ साउन २०८२, सोमबार

‘गाईजात्रा महोत्सव २०८२’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २५ गते । सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि ‘गाईजात्रा महोत्सव २०८२’ सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गर्नुभयो ।

मन्त्री पाण्डेले गाईजात्रा पर्वको आफ्नै महत्व र मैमा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाइजात्रा पर्व दुःख पीडामा पनि आफूलाई सबल र बलियो बनाएर अगाडि बढ्नु पर्छ भन्ने परम्परागत मान्यतामा आधारित छ । हामी लड्यौँ, ढल्यौँ भने पनि हामी उठेर अगाडि बढ्नु पर्छ, हामी दृढतापूर्वक अगाडि बढ्नु पर्छ । हामीले आँसुमा पनि हाँसो तथा शोक र निराशामा पनि सत्य खोज्नु पर्छ भन्ने मान्यता हो ।” उहाँका अनुसार गाईजात्रा भनेको व्यङ्ग्य गर्नेहरूले पनि सिर्जनशील भएर व्यङ्ग्य गर्नु पर्छ । 

महोत्सवमा १४ जना हास्य कलाकारले प्रस्तुति दिनुभएको थियो । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकार यस पटक ‘गाईजात्रा महोत्सव २०८२’ मा जोडिनुभएको छ । 

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले कविता ‘आध्यात्मिक’, सुरेन्द्र केसीले ‘मुला साग’, शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘प्राइभेट प्रहरी चौकी’,  हिमेश पन्त र सुजिता श्रेष्ठले ‘नेता’, विकास अर्याल र सरोज भण्डारीले ‘किसमिसको हमाल’, भरतमणि पौड्याल र सुमन कोइरालाले ‘घरबेटी र डेरावाल’,  सन्तोष थापा र कैलाश कार्कीले ‘माइतीघर’, दिनेश काफ्ले (हाउडे दाइ) र खडगबहादुर पुन (खबपु) ले ‘अलपत्र’ लगायतमा प्रहसन देखाउनुभयो । सो कार्यक्रममा सांकृतिक संस्थानका तर्फबाट पनि विभिन्न कलाकारको प्रस्तुति रहेको थियो । 

सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा गाईजात्रा महोत्सवको आयोजना भएको हो । यो पर्वको मौलिक संस्कृति लोप हुने खतरा बढेकाले यसको संरक्षणका लागि गत वर्षदेखि गाईजात्रा महोत्सव आयोजना थालिएको जनाइएको छ । परम्परागत र लोकतान्त्रिक पद्धति अनुसार व्यङ्ग्य गर्ने छुट रहेको तर, छुटको नाममा अतिरञ्जित किसिमले प्रहसन गरी सांस्कृतिक पर्व गाईजात्रा भन्नु नयाँ पुस्तामाझ गलत भाष्य सम्प्रेषण भइरहेकाप्रति संस्थानले ध्यानाकर्षण पनि भएको जनाएको छ ।