डोटी समाचारदाता
डोटी, साउन २६ गते । डोटी जिल्लाका विभिन्न सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन् । स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो । सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो ।
डोटी जिल्लाका कुनै पनि स्थानीय तहमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । डोटीको पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा भवन निर्माणसमेत पूरा हुन सकेको छैन । भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन । डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माण भइरहेको १५ शय्याको आधारभूत अस्पतालको भवन अलपत्र अवस्थामा छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबिच २०७८ असार १८ गते सम्झौता भएको थियो । २०७९ साल असार २९ गते निर्माण भइसक्नुपर्ने भवनको हालसम्म १५.६३ प्रतिशत काम सम्पन्न भएको छ ।
गाउँपालिकाका तर्फबाट पटक पटक ताकिता गर्दासमेत निर्माण व्यवसायीले लापरबाही गरेका कारण भवन निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । जोरायल गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल भवनको हालसम्म ११ प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । भ्याटसहित ११ करोड २१ लाख ५८ हजार रुपियाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपियाँ निर्माण व्यवसायीलाई पेस्की दिइएको छ । डोटीको केआइसिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शय्याको अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको छ ।
बडिकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ मङ्सिर १५ गते शिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हाल पिलर राख्ने काम मात्र भएको छ ।