प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन २६ गते । रौतहटको गुजरा नगरपालिकामा रहेको एनआइसी एसिया बैंक सिमरा भवानीपुर शाखाले सामाजिक सुरक्षा र बाल पोषण भत्ता रकम वितरणमा ढिलाइ गर्दा स्थानीय लाभाग्राही आक्रोशित बनेका छन् ।
गएको असार १२ गते गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को चौथो किस्ता वापतको सामाजिक सुरक्षा वापतको रकम र सोही आर्थिक वर्षको बालपोषण भत्ता वापतको रकम लाभाग्राहीको खातामा पठाए पनि बैंकले वितरणमा ढिलासुस्ती गरेका कारण जीविकोपार्जन समेतमा अप्ठ्यारो हुँदै आएको गुजरा नगरपालिका– ८ का पचिया खातुनले बताउनुभयो ।
नगरपालिकाले रकम बैंकमा पठाएदेखि दिनहुँ कहिले नगरपालिका त कहिले बैंक धाउनुपर्ने बताउनुहुँदै उहाँले बैंकको कारण आफूहरुले सास्ती भोग्नुपरेको गुनासो गर्नुभयोे ।
स्थानीयको बारम्बारको दबाबपछि बैंकले वितरण तालिका प्रकाशन गरी आइतबारदेखि वितरण सुरु गरे पनि ८ नं. वडाको बालपोषण भत्ता भदौ १ देखि ६ गतेसम्म र सामाजिक सुरक्षा रकम भदौ १७ देखि २४ गते वितरण हुने तालिका देखेपछि सो वडाका लाभाग्राहीहरु आक्रोशित भइ आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेको ८ नं. वडाका अध्यक्ष मोतिम मियाँ मन्सुरीले बताउनुभयो ।
तरकारी, औषधि किन्नसमेत रकम अभाव भएको बेलामा बैंकले झन् पीडा थपेकाे स्थानीय रहमद खातुनको गुनासो छ ।
असार १२ गते नै बैंकमा रकम पठाइए पनि सेवाग्राहीलाई रकम नआएको बताउने, बैंक स्टेटमेन्ट माग्दा नदिने गरेको लगायतका भ्रामक कुरा बैंकले भन्ने गरेका कारण स्थानीयले आफ्नो गुनासो नगरपालिकासँग पोखेको र विरोधस्वरुप तालाबन्दी गरेको गुजरा नगरपालिका पन्जीकरण शाखा प्रमुख मोहम्मद मेराज अहमदले जानकारी दिनुभयो ।
नगरपालिकामा रहेको बैंकले समयमा सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम वितरणमा ढिलाइ गर्दा स्थानीयले तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले स्वीकार्नुभयो ।
आक्रोशित स्थानीयलाई सम्झाई बुझाई घर पठाएपछि ताल्चा खोलेर नगरपालिकाको दैनिक प्रशासनिक काम सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
बैंकले आइतबारदेखि नगरपालिकाअन्तर्गतको शाखासँगै चन्द्रनिगाहपुर, निजगढ र कोल्भीबाट सामाजिक सुरक्षा रकम र बालपोषण भत्ता वापतको रकम वितरण गर्न लागेको एनआइसी एशिया बैंक सिमरा भवानीपुर शाखा प्रमुख मोहम्मद सादाव प्रवेजले जानकारी दिनुभयो ।
शाखा प्रमुख प्रवेजका अनुसार बैंकमा नगरपालिकाको करिब आठ हजार लाभग्राही रहेको र एकै समयमा सबैलाई बाँड्न सम्भव नरहेको बताउनुभयो ।