• २६ साउन २०८२, सोमबार

लोकमार्गका पुल जोखिममा

blog

पूर्वपश्चिम लोकमार्गस्थित ढुङ्ग्रेखोलाको जोखिममा रहेको बेलगाछी पुल । तस्बिर : रवीन्द्र उप्रेती

बर्दीबास समाचारदाता 

बर्दीबास, साउन २६ गते । ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास–५ स्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेको छ । अर्कोतिर लोकमार्गनजिक चुरे र भावर क्षेत्रबाट बाढीले बगाएर ल्याएको बालुवासहितको गेग्य्रानले खोलाको सतह उठाउँदै लगेकाले पुलमा दोहोरो जोखिम देखिएको छ । 

बालुवासहितको गेग्य्रानले खोलाको सतह उठाउँदै गएकाले पुल र खोलाबिचको सतह अहिले एक मिटरभन्दा पनि कम पारेको छ । चुरे भेगमा ठुलो पानी प¥यो भने पुलमाथिबाट बाढी बग्ने खतरा देखिएको छ । गत वर्षको बाढीले पनि दायाँतर्फ कटान गर्न थालेपछि सडक र पुल धस्न सक्ने सम्भावनाका कारण पुल एकतर्फी सञ्चालन गरिएको थियो । यो पटक वर्षा कम भएको छ । तथापि यो महिना ढुङ्ग्रे खोलामा तीन पटक बाढी आइसकेको छ । ठुलो बाढी आए जोखिम दोहोरिने सम्भावना बढेकोे छ । 

जङ्गली क्षेत्रमा रहेको ३८ मिटर लम्बाइको बेलगाछी पुल विगत पाँच वर्षदेखि जोखिममा छ । गत वर्षको बाढीले पुल कटान गर्न थालेपछि सडक डिभिजन कार्यालय जनकपुरले पश्चिमतर्फ बाँधको तारजाली पनि कटान हुन थालेको छ । 

सन् २०२५ देखि यो सडकखण्ड विश्व बैङ्कको ऋण सहयोगमा स्तरोन्नतिको चरणमा रहेकाले यसको मर्मतसम्भारको जिम्मा कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) को दायित्वमा परेको छ । योजना अनुसार अहिले यो पुलको समानान्तर अर्को नयाँ पुल बनाउनुपर्ने हो । यसका लागि ठेकेदार कम्पनीले प्रयास थाले पनि डिभिजन वनले रुख व्यवस्थापनमा ढिलाइ गर्दा डाइभर्सनका लागि ठाउँ नपुगेपछि नयाँ पुल निर्माण हुन सकेको छैन । अर्कोतर्फ पुलको दायाँबायाँ ५०÷५० मिटर दुरीबाट नदीजन्य सामग्री निकाल्न नपाइने प्रावधानले आयोजनाले चाहेर पनि खोलाको बढ्दो सतह तत्काल कम गर्ने अवस्था नरहेको जनाएको छ । आयोजना प्रमुख छविलाल पौडेलले पुलमा पर्न सक्ने जोखिमबारे आयोजनाले पूर्वतयारी गरेको बताउनुभयो । 

उहाँका अनुसार पुलको बढ्दो जोखिमलाई मध्यनजर गर्दै आयोजनाका इन्जिनियर राजकिशोर सिंहको नेतृत्वमा गठन गरिएको समितिले प्रशासन कार्यालय महोत्तरीमा प्रतिवेदन बुझाइसकेको छ । पौडेलले भन्नुभयो, “पुल सुरक्षा र जोखिम न्यूनीकरणका लागि हामी सजग छौँ । आयोजनाले पुल जोगाउने र ढुङ्ग्रे खोलाको सतह घटाउनका लागि महोत्तरी प्रशासन र बर्दीबास नगरपालिकाबिच सहजीकरणको प्रयास थालेको छ ।”