पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), साउन २६ गते । महाबुधाम दैलेखको महाबु गाउँपालिका, नौमुले गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध तीर्थस्थल हो । यो धाम पछिल्लो समय धार्मिक आस्था र पर्यटनको गन्तव्य बन्दै गएको छ । भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि महाबुधामप्रतिको आकर्षण बढ्दै गएको हो ।
यहाँ पुग्ने भक्तजनले शान्ति प्राप्त भएको बताउने गरेका छन् । धार्मिक मान्यता अनुसार एक हजार वर्षपहिले दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दुध चढाउन थालिएको र ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ । धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन, यहाँ मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरू पनि त्यत्तिकै आकर्षित हुन थालेका छन् । महाबुधाम आस्था र विश्वासको महत्त्वपूर्ण धरोहरका रूपमा रहेको र भक्तजनले मागेको वर प्राप्त हुने जनविश्वास रहेको छ ।
सुर्खेत, दैलेख, जाजरकोट, काठमाडौँ, कालीकोट, जुम्ला र हुम्लालगायतका ठाउँबाट हजारौँ भक्तजन बर्सेनि पूजाका लागि महाबुधाम आउने गरेको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । उहाँले छिनभरमै मौसम परिवर्तन भइरहने महाबुधाममा पुग्ने जोकोहीले पनि आनन्दको अनुभूति गर्ने जनाउनुभयो । यसको इतिहास लामो भएकाले महाबुधाममा पुगेर शिवजीको दर्शनपछि मनोकामना पूरा हुने उहाँले बताउनुभयो ।
समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइको धाम महाबु र कालीकोट महाबै गाउँपालिकाको सिमानामा पर्छ । ठाडो उकालो भएकाले केही असज भए पनि महाबुधाममा पुगेपछि स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति भएको श्रद्धालु भक्तजन बताउँछन् ।