तिलाचन पाण्डे
तम्घास (गुल्मी), साउन २६ गते । पछिल्लो समयमा गाउँ विकसित हुँदै गए पनि गाउँबाट सहरतर्फ बसाइसराइ गर्ने क्रम भने रोकिन सकेको छैन । पहिले गाउँमा शिक्षा, स्वास्थ्य र सडकको उचित प्रबन्ध नभएको भन्दै बसाइसराइ गर्ने प्रवृत्ति थियो भने अचेल गाउँमा विकास पुग्दै गए पनि गाउँघर छाड्ने सङ्ख्या रोकिएको छैन ।
गुल्मी जिल्लाबाट गत आर्थिक वर्षमा करिब एक हजार १७४ घरपरिवारका चार हजार २५ जनाले बसाइसराइको प्रमाणपत्र लगेको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा दुई नगरसहित १२ स्थानीय तह रहेका छन् । गाउँपालिकाभन्दा नगरपालिकामा पर्याप्त सुविधा हुने भए पनि नगरपालिकाबाटै पनि बसाइसराइको दर बढ्दो छ ।
पञ्जीकरण शाखाका प्रमुख विष्णुप्रसाद फुल्लेलले जिल्लाको मुसीकोट नगरपालिकाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी १५९ घरपरिवारका ६९६ जनाले बसाइसराइको प्रमाणपत्र लगेको जानकारी दिनुभयो ।
स्थानीय तहका पञ्जीकरण शाखाका प्रमुखहरूले गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाबाट ८२ घरपरिवारका २७१ जना, मुसीकोट नगरपालिकाबाट १५९ घरपरिवारका ६९६ जना, कालीगण्डकी गाउँपालिकाबाट १११ घरपरिवारका ४१६ जना, चन्द्रकोटबाट १३७ घरपरिवारका ५६५ जनाले बसाइसराइको प्रमाणपत्र लिएका छन् । त्यसै गरी सत्यवतीबाट १२३ घरपरिवारका ४६४ जना, रुरुक्षेत्रबाट १०३ घरपरिवारका ३५६ जना, छत्रकोटबाट ११४ घरपरिवारका ३८६ जना, गुल्मीदरबारबाट ७५ घरपरिवारका २८५ जना, धुर्कोटबाट ९० घरपरिवारका ३१९ जना, इस्माबाट ५६ घरपरिवारका १७५ जना, मालिकाबाट ५७ घरपरिवारका २१८ जना र मदानेबाट ६७ घरपरिवारका २६० जनाले बसाइसराइको प्रमाणपत्र लिएको उहाँले जानकारी दिनुभयो । यीबाहेक बसाइसराइको प्रमाणपत्र नलिई जानेको सङ्ख्या योभन्दा धेरै हुने गरेको बताइएको छ तर स्थानीय सरकारले भने बसाइसराइको प्रमाणपत्र लिएर जानेलाई मात्र आधिकारिक मान्ने गरेको छ ।
यसबिचमा जिल्लाका १२ स्थानीय तहमा २०३ घरपरिवारका ६५१ जना बसाइसराइ गरी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्थानीय सरकारले बसाइसराइको दरलाई रोक्नका लागि स्वरोजगारमूलक कार्य सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यसका साथै गाउँमै अझै गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई जोड दिएमा बसाइसराइको दरलाई केही मात्रामा भए पनि कम गर्न सकिने उहाँको भनाइ छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बसाइसराइको दरलाई जति गरे पनि रोक्न नसकिएको बताउनुभयो । उहाँले गाउँमा भन्दा सहरमा गएर प्रगति गर्छु भन्नेलाई रोक्न पनि नहुने बताउनुभयो । पछिल्लो समयमा कृषि र पशुपालनमार्फत हुने उत्पादनलाई गाउँपालिकाले जोड दिँदै आएको उहाँको भनाइ छ ।