अमरराज नहर्की
तनहुँ, साउन २५ गते । तनहुँमा कार्यरत एक कर्मचारी मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको छ । नेपाल टेलिकम दमौली शाखामा कार्यरत सवारी चालक ४० वर्षीय हरी परियार बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा साथीसँग शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएका परियारलाई अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–१ अम्रेनी निवासी परियार साथीहरुसँग पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको थियो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजी कार्य गरिरहे पनि हालसम्म फेला पार्न नसकिएको अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार सोही कार्यालयमा टेक्निसियन पदमा कार्यरत २२ बर्षीय शिखर पौडेल, टेक्निसियन ३१ वर्षका विशेश्वरप्रसाद चौधरी, सुरक्षा गार्ड ४२ वर्षका शुक बहादुर गुरुङ र सवारी चालक ४० वर्षीय पवनबहादुर कुमाल मिलेर वनभोज कार्यक्रममा सहभागीपछि नदीमा पौडी खेल्न जानुभएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।