गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २५ गते । आठौँ विश्व संस्कृत दिवसमा प्राध्यापक डा. ऋषिराम पोखरेललाई सम्मान गरिएको छ । सो कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागद्वारा छिट्टै नै संस्कृत भाषाको अल्पकालीन शिक्षण सुरु गर्ने जानकारी पनि दिइयो ।
वाल्मीकि विद्यापीठमा शनिबार जरोकिलो प्रतिष्ठान, नेपालको आयोजना, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, वाल्मीकि विद्यापीठ, त्रि–चन्द्र कलेजको दर्शनशास्त्र विभागलगायतका सङ्घ संस्थाको सहआयोजनामा आठौँ विश्व संस्कृत दिवस सम्पन्न भएको हो ।
सम्मानित प्राडा पोखरेलले संस्कृत भाषामा पूर्वीय सभ्यताको विगत, वर्तमान र भविष्य निहीत रहेको बताउनुभयो । सहप्राध्यापक डा. रामचन्द्र पौडेलले स्कुल अफ आर्ट्स अन्तर्गतको भाषा तथा आमसञ्चार विभागमा यथाशीघ्र संस्कृत भाषाको अल्पकालीन कक्षा सुरु गर्ने तयारी भइरहेको उद्घोष गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका जरोकिलो प्रतिष्ठानका संयोजक प्राडा माधवप्रसाद पाण्डेयले संस्कृत भाषामै ज्ञानको भविष्य उज्वल रहेको बताउनुभयो । सो कार्यक्रममा जरोकिलो प्रतिष्ठानका संकल्पकर्ता तथा काठमाडौँ विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक डा. निर्मलमणि अधिकारी, त्रि–चन्द्र कलेजका सहप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, डा. माधवप्रसाद लामिछाने, डा. आनन्दप्रसाद घिमिरे, डा. जीवन अधिकारी, दुर्गाप्रसाद पौडेल, कल्पना घिमिरेलगायतको सहभागिता रहेको थियो ।