• १३ वैशाख २०८१, बिहिबार

हुम्लाकाे मासपुरमा खाद्यान्न नपाएको गुनासो

blog

लिमिटेडको ढुवानी अनुदानको चामल र नुन नपुग्ने मासपुर गाउँ । तस्बिर: राजन रावत

हुम्ला असार ९ गते । जिल्लाको दुर्गम मानिने मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको स्थानीयले गुनासो गरेका छन् । लिमिटेडको खाद्यान्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यान्न बिक्री वितरण बारे मासपुरवासीलाई जानकारी नहुने गरेको भन्दै खाद्य समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ । 

यी गाउँले सहुलियतदरको खाद्यान्न पाउनबाट वन्चित हुँदै आउनुपरेको जनाएको छ । ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँका स्थानीय दानबहादुर बुढाले हालसम्म लिमिटेडको खाद्यान्न गाउँवासीले नपाएको गुनासो गर्नुभयो । उहाँले गाउँपालिका केन्द्र छप्रेलामा रहेको बिक्री केन्द मासपुर गाउँबाट पुग्न एक दिन पैदल लाग्ने र केन्द्रबाट खाद्यान्न बिक्री बारेमा जानकारी पनि नहुने भएपछि पाउनबाट वञ्चित हुँदै आएको बताउनुभयो । 

उहाँले अर्को कुरा जानकारी पाए पनि स्थानीयले धेरै दुःख गरेर खाद्यान्न खरिद गर्दा पाँच  किलो मात्र पाउने गरेकोले पनि सो खाद्यान्न प्रति स्थानीयको चासो नहुने बताउनुभयो । कतिपय स्थानीयलाई त बिक्री केन्द्रबाट ढुवानी अनुदानमा खाद्यान्न बिक्री हुन्छ भन्नेसम्म जानकारी नभएको पाइएको छ । उहाँले दुर्गमका लागि लिमिटेडले ढुवानीको व्यवस्था गरेर गाउँगाउँमा पुर्याउने व्यवस्था गर्न मासपुरवासीको माग रहेको बताउनुुभयो । अर्को कुरा कहिल्यै लिमिटेडको खाद्यान्न नपाउने मासपुरवासीका लागि निश्चित कोटाको व्यवस्था गर्न  लिमिटेडसँग स्थानीयले माग गर्नुभएको छ । उहाँले मासपुरका स्थानीय त्यसैले खाद्यान्न खरिद गर्नुपर्यो भने बाजुरा र हुम्ला जिल्लाको सीमाना कवाडी पुग्ने गरेको बताउनुभयो । यसरी खाद्यान्न खरिद गर्दा साढे दुई दिन लाग्ने गर्छ ।

विगत चार वर्षदेखि छप्रोलामा बिक्री केन्द्र स्थापना भएर ताँजाकोट गाउँपालिकाका लागि खाद्यान्न बिक्री गरिदै आएको छ । लिमिटेडको सिमकोट शाखाका निमित्त नवीन आचार्यका अनुसार यस बारेमा आफूलाई जानकारी नभएको र बुझेर खाद्यान्न नपाउने मासपुरवासीलाई प्राथमिकतामा राखेर खाद्यन्न बिक्री गर्न बिक्री केन्द्रका इन्चार्जलाई निर्देशन दिइनेछ । उहाँले चालु आर्थिक वर्षमा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट कोटा निर्धारण गरिएकोमा हालसम्म २७० क्विन्टल ढुवानी भएको छ ।

त्यसैगरी मासपुरका स्थानीय बासिन्दाहरुले हालसम्म नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन पनि नपाएको गुनासो गर्नुभएको छ । उक्त गाउँवासीले नुन पनि कवाडी बजारबाट प्रतिकेजी २५ रुपियाँ तिरेर खरिद गर्दै आउनुभएको छ । जब कि कर्पोरेशनको ढुवानी अनुदानको नुन हुम्ला प्रतिकेजी नौ रुपियाँमा पाउने गर्छ । मासपुर गाउँमा २३ घरधुरीको १५० भन्दा बढी जनसङ्ख्या  छ ।

Author

राजन रावत