• २० साउन २०८२, मङ्गलबार

गलेश्वर शिवालयमा दिव्य आरती पूजा

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), साउन २० गते ।  म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा विशेष दिव्य आरती पूजा गरिएको छ । साउनको सोमबार तातोपानी कुण्ड व्यवस्थापन र गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजनामा विशेष दिव्य आरती पूजा गरिएको हो ।

गलेश्वर शिवालयको दर्शन गर्न आउने भक्तजनलाई लक्ष्य गरी प्रत्येक सोमबार दिव्य आरती पूजा आयोजना गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार साउनभर दिव्य आरती पूजा हुने छ । बिहानदेखि नै भजनकीर्तन र पूजाआराधनासहित  आरती पूजा गर्ने गरिएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । आरती पूजाका समयमा गलेश्वरमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । सङ्गीतसहित दिव्य आरती पूजा एक घण्टासम्म चलेको थियो ।

साउनको तेस्रो सोमबार गलेश्वर शिवालयमा करिब २० हजार भक्तजनले पूजाआराधना गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वरमा बिहानैदेखि भक्तजनको भिड लागेको थियो । पूजा व्यवस्थित गर्न गलेश्वर शिवालयले कोषका पदाधिकारी, सदस्य, स्वयंसेवक र सुरक्षाकर्मी पनि परिचालन गरेको कोषले जनाएको छ । पछिल्लो समय गलेश्वरको प्रचारप्रसार भएकाले मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजन पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा नौ रोपनी क्षेत्रफलको विशाल चक्रशिलामाथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूहलगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष  रेग्मीले बताउनुभयो ।