• २० साउन २०८२, मङ्गलबार

बहुविवाहलाई कानुनी मान्यता दिनुहुँदैन : कांग्रेस केन्द्रीय सदस्य सङ्ग्रौला

blog

काठमाडौ, साउन २० गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पेशागत तथा वुद्धिजीवी विभाग प्रमुख डा. डिला सङ्ग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

नेपाल महिला सङ्घकी पूर्व अध्यक्षसमेत रहेकी सङ्ग्रौलाले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै बहुविवाह फौजदारी अपराधको रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य हुने बताउनुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘बहुविवाह फौजदारी अपराध हो । बहुविवाह संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ  । मुलुकका सामु थुप्रै महत्त्वपूर्ण विषयवस्तु हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन ।’’

उहाँले बहुविवाह लैङ्गिक समानता र मानवअधिकार विपरीत रहेको भन्दै महिलाको स्वाभिमान र आत्मसम्मानमा चोट पुग्ने र महिला–पुरुषबिच असमानता र विभाजन बढाउने पनि उल्लेख गर्नुभएको छ । अहिले आउन लागेको भनिएको प्रस्तावित कानुनले आम महिलाको अपमान गर्ने पनि सङ्ग्रौलाको तर्क छ ।

‘‘नेपालको संविधानले लैंगिक समानताको अधिकार दिएको छ । यही समानताको अधिकारका आधारमा २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता २०७४ ले बहुविवाहलाई पूर्ण निषेध गरेको छ । दोस्रो विवाह स्वतः बदर हुन्छ । दोस्रो विवाह गर्ने हो भने त्यसअघि पहिलो विवाह टुङ्ग्याउनुपर्छ । त्यसैले यो मस्यौदा लैङ्गिक न्याय र समानताको अवधारणाविरुद्ध रहेको हाम्रो ठहर छ ।’’ विज्ञप्तिमा भनिएको छ ।

अहिले बहुविवाहका कारण महिलाको सुरक्षा हुने भन्ने तर्क आफैँमा पितृसत्तात्मक सोचबाट निर्देशित रहेको बताउँदै एउटी महिलाको सुरक्षाको नाममा अर्की महिलाको आत्मसम्मान र अधिकारमाथि प्रहार गर्ने कानुन बन्नु न्यायसम्मत नहुने पनि उहाँको भनाइ छ ।

बहुविवाहलाई कानुनी मान्यता दिनेगरी कानुन बनाउँदा समाजमा महिलामाथिको हिंसा, घरेलु द्वन्द्व, यौन शोषण र असमानता बढ्ने र त्यसले नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतका विगतका फैसला र नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने भन्दै मस्यौदा सदनमा प्रवेश गराउनु अघि नै तत्काल खारेज गर्न माग पनि गर्नुभयो ।

अपराधसंहिताको दफा १७५ संशोधन गरी उक्त व्यवस्था गर्न लागिएको बताए पनि मन्त्रिपरिषदमा विचाराधीन विधेयकको मस्यौदामा यी यस्तो प्रावधान नराखिएको केही दिन अघि कानुन मन्त्रीले उल्लेख गर्नुभएको थियो ।

दफा १७५ को ५ संसोधनका लागि उपदफा ५ ‘क’ र ५ ‘ख’ थपिएको छ । उपदफा ५ ‘क’ दफा १७५ (५) संशोधनका लागि प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्धबाट बच्चाको जन्म भइसकेको वा महिला गर्भवती रहेको भए बहुविवाहको कसुरमा सजाय भएका कारणले मात्र त्यस्तो विवाह बदर हुनेछैन ।’’

यसअघि बहुविवाह स्वतः बदर हुने व्यवस्था थियो । बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने पनि कानुनी व्यवस्था छ ।