• २० साउन २०८२, मङ्गलबार

भीमदुलामा बढे आन्तरिक पर्यटक

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २० गते । खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै गएको हो । 

महाभारतकालीन समयका पात्र भीमसेनसँग जोडिएको सामाजिक मान्यता रहँदै आएको भीमदुलामा बर्खा लागेसँगै आन्तरिक पर्यटक जाने क्रम यस वर्ष पनि सुरु भएको खार्पुनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । चार हजार पाँच सय मिटर उचाइ रहेको कडा चट्टानमा प्वाल खोपेर ढोकाको रूप दिइएको छ । प्वालबाट खार्पुनाथ पट्टिबाट हेर्दा सर्केगाड गाउँपालिकाको भूमि देखिन्छ भने सर्केगाड गाउँपालिकाबाट हेर्दा खार्पुनाथ र सिमकोट गाउँपालिकाको भूभाग देखिने गर्छ । उक्त ढुङ्गाको प्वाल महाभारत कालमा भीमसेनले हालको जुम्ला जिल्लाको सिँजा उपत्यकाबाट कैलाश पर्वतमा फाल्ने गरी हिर्काएकोमा सो ढुङ्गा मारगोरको पहाडमा लागेर चट्टान छेडेर सिमकोट गाउँपालिकाको शिवमन्दिरमा परेको र जुन ढुङ्गा अहिले पनि घिउढुङ्गाका रूपमा रहँदै आएको बताइन्छ । 

भीमसेनले ढुङ्गा फाल्ने क्रममा चट्टानमा लागेर प्वाल पारेपछि त्यसको नाम नै भमिदुला राखिएको उहाँले बताउनुभयो । अग्लो स्थानमा हराभरा दृश्य देखिने र बुकी फूल फुलेको समयमा निक्कै आकर्षण दृश्य देखिने भएकाले आन्तरिक पर्यटक मनोरञ्जनका लागि पनि जाने गर्छन् । यस वर्ष असार र साउन महिना गरी सात वटा आन्तरिक पर्यटकको समूह भीमदुला पुगेर अवलोकन गरिरहेको त्यहाँ पशुपालन गर्दै आउनुभएका खर्काला कालीबहादुर शाहीले बताउनुभयो । मारगोरको भीमदुलामा बासको व्यवस्था नभएका कारण घुम्न आउनुभएका आन्तरिक पर्यटक खर्कमै बस्ने गरेको उहाँको भनाइ छ । जहाँ दुध, दही, मही र घिउ खान र किन्न पनि पाइने गर्छ ।  सो क्षेत्र जानका लागि पैदल मार्गबाट एक दिन हिँडेर जानुपर्ने हुन्छ । अहिले आन्तरिक पर्यटक मात्र गइरहेको बताउँदै उहाँले यसको सही रूपमा प्रचारप्रसार गर्न सके जिल्लाबाहिरका पर्यटकलाई पनि आकर्षित गर्न सकिने बताउनुभयो ।