• २० साउन २०८२, मङ्गलबार

स्थानीय निकायमा विपद् प्रतिकार्य क्षमता बढाउनुपर्छ

blog

काठमाडौँ, साउन २० गते । कुनै पनि स्थानमा विपद्जन्य घटना भएको अवस्थामा सो घटनाको पहिलो प्रतिकार्यको अधिकार स्थानीय तहलाई हुन्छ । नेपालको संविधानले यो अधिकारको व्यवस्था गरेको छ । 

मनसुनजन्य विपद्को अवस्थामा क्षति न्यूनीकरण एवम् व्यवस्थापनका लागि प्रत्येक जिल्लामा विपद् व्यवस्थापन समिति छ भने राष्ट्रिय स्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका संस्था छन् ।

‘सबैका लागि प्रारम्भिक चेतावनी’ (अर्ली वार्निङ फर) का नेसनल को–अर्डिनेटर समेत रहनुभएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुनकुमार बमका अनुसार विपदसम्बन्धी प्रतिकार्य एवम् व्यवस्थापनको कार्य सेन्डाई फ्रेमवर्कअन्तर्गत पर्ने चार वटा पिलर अनुसार हुने गर्दछ । 

सहसचिव बम भन्नुहुन्छ, “पहाडमा हेर्‍याे भने पहिरोको समस्या हुन सक्छ । तराईमा बाढी, डुबानको समस्या हुन सक्छ । कुनै ठाउँमा सर्पदंश हुन सक्दछ । कुनै ठाउँमा चट्याङ् हुन सक्दछ । त्यो खालको ज्ञान पहिला थाहा पाउनुपर्‍याे । जुन पहिलो पिलरअन्तर्गत पर्छ ।”

त्यसपछि, जल तथा मौसम विज्ञानको सूचना एवम् विवरण अनुसार पूर्वानुमान हुन्छ र अलर्ट जारी हुन्छ । विपद्को बुझाइ तथा अवलोकन, पूर्वानुमान एवम् अनुगमन, पूर्वानुमानको सूचना प्रवाह र विपद् प्रतिकार्य गरी समग्रमा चार पिलरमा अन्तर्गत विपद् व्यवस्थापनका कार्य हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “त्यसपछि जल तथा मौसम विज्ञानले विवरण दिनुहुन्छ । कुन ठाउँमा पानी पर्दैछ भनेर ठाउँ–ठाउँमा स्टेसन राख्नुहुन्छ । त्यसपछि त्यसलाई मोडलिङ गरिन्छ । त्यसपछि जलसतहको फरकास्ट गरिन्छ । त्यसपछि डेसिनेसन गर्छौं, यसलाई विपद् सञ्चार (डिजास्टर कम्युनिकेसन) भनिन्छ । त्यहाँका मानिसको भाषा, संस्कृति कस्तो खालको छ, त्यो खालको सूचना पुर्‍याइएन भने उनीहरूले बुझ्दैनन् । त्यसपछि विपद् प्रतिकार्यको योजना हुन्छ ।”

उहाँले नेपाल विपद् राष्ट्रिय कार्ययोजना (सन् २०१८–२०३०) अनुसार अघि बढेको जानकारी दिनुभयो । 

“२०७४ मा राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी ऐन बन्यो । त्यसपछि विनियमावली आयो । त्यसको आधारमा केन्द्र खेदी सम्माननीय प्रधानमन्त्रीज्यू कोमा विपद् परिषद् छ । गृहमन्त्रीज्यू कोमा कार्यकारी समिति छ”, उहाँले भन्नुभयो, “स्थानीय स्तरमा गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुखको अध्यक्षता रहने व्यवस्था छ । यसरी विभिन्न खालको संस्थागत संरचना छ ।”

गएको असार २४ गते रसुवागढीमा आएको बाढीबारे जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थिएन । कार्य सीमा प्रभाव (टास्क बाउन्ड्री इफेक्ट) यसो हुन गएको उहाँको भनाइ छ । जसकारण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तर देशीय सूचना आदनप्रदान गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले इलामको सूर्योदय नगरपालिका, बर्दियाको राजाकोट, कैलालीको जानकी नगरपालिकाका स्थानीय निकायमा पछिल्लो वर्ष विपद् प्रतिकार्यको राम्रो काम भएको बताउनुभयो । बर्षेनि बाढी जस्ता विपद्जन्य घटनाबाट पीडित यी क्षेत्रका स्थानीय सरकार तथा स्थानीयमा विपद् प्रतिकार्यको क्षमता अभिवृद्धि भएको उहाँको भनाइ छ । 

मनसुनजन्य विपद् र यसको व्यवस्थापनका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुनकुमार बमसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।