सन्तोषी रावल (जुगाडा)
बाजुरा, साउन २० गते । बाजुराको प्रमुख धार्मिकस्थल बडिमालिकाको विशेष पूजा अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, बडीमालिका नगरपालिकाका वडाध्यक्ष अर्जुन नाथको समन्वयमा टोलीले यात्रा आरम्भ गरेको हो ।
बडिमालिका दर्शनका लागि जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक रूपमा सलामी अर्पण गरी बिदाइ गरेको छ । टोली चार दिनको पदयात्रापश्चात् चतुर्दशीका दिन बडिमालिका मन्दिरमा पुग्ने र त्यहाँ विशेष पूजा तथा मेला आयोजना हुनेछ ।
यस पवित्र अवसरलाई दृष्टिगत गर्दै देशभरका भक्तजन तथा पर्यटक बडिमालिका र बुढिनन्दा क्षेत्रतर्फ प्रस्थान गरिरहेका छन् । मेलामा सहभागी हुन श्रद्धालुहरू केही दिन अघिदेखि नै मार्गतर्फ लागेका छन् ।
साउन २३ गते बडिमालिका र बुढिनन्दामा मुख्य पूजा सम्पन्न हुने जनाइएको छ । बडिमालिका पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष अघिल्ला वर्षहरूभन्दा धेरै श्रद्धालुको उपस्थिति हुने अपेक्षा गरिएको बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाले जानकारी दिनुभएको छ । देश–विदेशका भक्तजनहरू यो धार्मिक अवसरमा सहभागी हुने परम्परा पनि रहेको थापाले बताउनुभयो।
बाजुराका बडिमालिका र बुढिनन्दा तीर्थस्थलहरू केवल धार्मिक आस्थाका प्रतीक मात्र नभई, पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित भएको स्थानीय गोपाल थापाले बताउनुभएको छ ।